सन्दीपको उत्कृष्ट बलिङसंगै मेलबर्न स्टार्सको पाँचौ जीत

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग बास लिग (बीबीएल) क्रिकेटमा मेलबर्न स्टार्सले पाँचौ जित हात पारेको छ । शनिबार भएको खेलमा स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गरेको हो । जितसँगै मेलबर्न स्टार्स १० अंकसहित लिगको शीर्ष स्थानमा यथावत रहँदा आफ्ना कुनैपनि खेल जित्न नसकेको रेनेगेड्स शून्य अंकसहित लिगको अन्तिममा छ।

 

स्टार्सलाई पाँचौ जित दिलाउने क्रममा सन्दीपले ३ विकेट लिएका थिए । सुरुवाती दुई ओभरमा विकेट विहीन सन्दीप तेस्रो ओभरमा २ र चौंथो ओभरमा १ विकेट लिन सफल भएका हुन् । यससँगै यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट लिन सफल भएका छन् । यता आजको जितसँगै स्टार्स पनि अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मेलबर्न क्रिकेट मैदानमा रेनेगेड्सले दिएको १ सय ४३ रनको लक्ष्य स्टार्सले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर भेटाएको थियो ।

 

स्टार्सको जितमा मार्कुस स्टोनीसले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रन बनाए । रेनेगेड्सका केन रिचार्डसन र रिचार्ड ग्लिसनले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

 

उसका लागि शन मार्शले सर्वाधिक ४३ रन बनाए भने ब्यू वेब्स्टरले २९ रनको योगदान गरे । यस्तै एरोन फिन्च २५ रन विल सदरल्याण्ड १६ रन बनाएर पेभेलियन फर्किए। साम हार्परले १२ रन बनाए भने अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । मेलबर्न स्टार्सका लागि नेपालका सन्दीपले सर्वाधिक ३ विकेट लिए । यस्तै डेल स्टेन र एडम जाम्पाको नाममा पनि २–२ विकेट रह्यो ।

Facebook Comments

                     

अरुपनि