`राजसंस्था’ जो कहिले गलत थिएन


– सान नेपाल

 

तत्कालीन राजा बिरेन्द्रले २०४६ सालमा बहुदलीय व्यवस्था घोषणा गरिदिए । सबले भने हाम्रा महान राजा । दुरदर्शिता भएका राजा । जनताको भावना बुझेका राजा । कती दानी राजा । कती प्यारा राजा । समय लम्बिदै गयो ।

 

राजाको संबैधानिक उपस्थिति कांग्रेसलाई आत्मीय लाग्यो र एमालेलाई निकै पबित्र लाग्यो । नेताहरूले भाषण ठोके हाइ हाइ राजा भने । प्रष्ट रूपमा राजावादी देखिएका दलहरूले जनता बाट राम्रै हाइ हाइ पाए । संसदमा बलियो उपस्थिति समेत देखाए । श्रीपेचले जनतालाई शक्तिशाली बनाइदियो ।

 

दुरदर्शिताका अनुपम उदाहरण मानिएका राजा महेन्द्रले बनाइदिएको १४ अञ्चल ७५ जिल्ला र ५ बिकास क्षेत्रलाई सबैले आत्मसात गरेरै अगाडि बढे । संसद भवनमा कहिले पनि यो भौगोलिक बिभाजनको बिरोध भएन । श्रीपेच संगको सामीप्यताले सबैको मन प्रफुल्ल थियो ।

 

व्यवस्थापिकाले गरेका कैयौं गल्ती कमजोरीहरु राजा बिरेन्द्रले करेक्सन गराइदिदा नेपालको रास्ट्रीयता बलियो देखिदै थियो । २०५१ पस्चात कथित माओवादी जनयुद्धको आकस्मिक सुरुवातले श्रीपेच माथी नै निसाना बनायो ।

 

माओवादीले बजाएको पट्यार लाग्दो बिगुलले संबैधानिक राजतन्त्र माथी नै धावा बोलेर मुलुकलाई रणक्षेत्र बनायो । खुनको होली खेल्न बाध्य बनायो। हजारौंका सिउदो पुछिए, हजारौं आमाहरूले आफ्ना सन्तान गुमाए, बुवाहरुले आफ्नो उत्तराधिकारीको बलि चढाए । कथित जनयुद्धको एउटा मात्र उद्देश्य थियो राजतन्त्रको अन्त्य ।

 

तर स्ट्रीयतालाइ जुनसुकै बेला दाउमा राख्न सक्ने अवसरबादी राजनीतिक दलहरुको कमजोरी र लाचारी चरीत्रले मुलुकलाई गृह युद्धको चपेडामा धकेल्यो । राजा बिरेन्द्रको बंशनास हुनुमा ४२ लाख भारतीयलाई नागरिकता दिन नहुने भन्दै राजा द्वारा राखिएको अडान नै साह बंशको बिनासको बाटो बन्यो ।

 

राजा ज्ञानेन्द्रले असक्षम घोषणा गरिएका तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा सक्षम नेता भएको पुष्टि कुनै पनि राजनीति घटनाक्रमले गर्न सकेन । साह वंशको अन्त्यको घोषणा गर्न बसेका नेपाली नेताहरू तिनै छद्मभेषीको हुल थियो जसले जनआन्दोलन २०४६ लाई ऐतिहासिक उपलब्धि भन्यो र माओवादी द्वारा घोषित कथित जनयुद्धको प्रत्यक्ष साक्षी र आविष्कार बन्यो ।

 

मुलुकमा केहि दिन चलेको भाग २ नाम दिइएको कथित जनआन्दोनको नाटकीय सुरुवात गरियो । नाटकिय जनआन्दोलन माओवादीले उठाएको केहि मुद्दाहरुको सम्बोधनका नाममा गरिएको आत्मसमर्पण मात्र थियो । जव राजा ज्ञानेन्द्रले नारायणहिटी छोडेर नागार्जुन प्रस्थान गरे, मुलुकले त्यही बेला एक कुशल अभिभावक गुमाएको थियो, एउटा लामो इतिहासको अन्त्य भएको थियो र मुलुक दिशाहिन यात्रामा होमिएको थियो ।

 

जसलाई उपलब्धि भनेर नाम दिइयो त्यसैको आडमा भ्रस्टाचार मौलाएको छ, अराजकता मौलाएको छ र रास्ट्रीयताको अन्त्य भइसकेको अनेकौं उदाहरणहरु देखापरेका छन् । अब व्यवहारिक रूपमा ७ प्रदेश फेल भइसकेको छ, रास्ट्रपतिय व्यवस्थाले विश्राम लिनै पर्ने आम नागरिकले मुल्यांकन गर्न थालेका छन् । आशा गरौं परिवर्तन नजिकिदै छ र पवित्र राजसंस्था पुनः स्थापित हुनेछ ।

Facebook Comments

                     

अरुपनि