न सलामी, न मिडियासँग कुराकानी !


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गराइ सिंगापुरबाट सोमबार मध्यान्‍ह स्वदेश फर्किएका छन्।

 

स्वास्थ्य परीक्षण र चिकित्सकसँग थप परामर्श आवश्यक परेको हुँदा लम्बिएको सिंगापुर बसाइ सकेर प्रम ओली सोमबार स्वदेश फर्किएका हुन्।

 

प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सलामी पनि लिएनन भने सञ्‍चारकर्मीसँग पनि कुराकानी गरेनन्। रगतमा क्रेटीनाइनको मात्रा बढेको र पिसाबबाट प्रोटीन बग्‍न थालेपछि चिकित्सकको सल्लाहमा उनी अघिल्लो शनिबार सिंगापुर गएका थिए।

 

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार स्वास्थ्य परीक्षण कार्य नसकिएको तथा रिपोर्ट आएपछि चिकित्सकसँग थप परामर्श लिनु परेकाले प्रधानमन्त्रीको बसाइ लम्बिएको थियो।

 

‘स्वास्थ्य परीक्षण भइरहेको तथा रिपोर्ट आउन बाँकी रहेकाले बसाइ लम्बिएको हो,’ अर्यालले नेपालन्युजसँग भने, ‘चिकित्सकले आइतबारसम्म रिपोर्ट आइसक्ने जनाएपछि पूर्वनिर्धारित कार्यतालिकाभन्दा अलि ढिलो हुन पुगेको हो ।’ यद्यपि, नेपालबाट जाँदा पनि प्रधानमन्त्री ओलीले ‘रिर्टन टिकट’ भने लिएका थिएनन्।

 

छाउनीस्थित सैनिक अस्पतालमा प्रारम्भिक स्वास्थ्य परिक्षण गरेपछि नेपालमा उपचार सम्भव: नहुने भन्दै चिकित्सकले मिर्गौला र कलेजो प्रत्यारोपणका लागि विश्‍व प्रसिद्ध अस्पताल नेसनल युनिभर्सिटीमा ‘रिफर’ गरिदिएका थिए।

 

प्रधानमन्त्री ओली सिल्क एयरबाट गत शनिबार सिंगापुरको उक्त सरकारी अस्पताल प्रस्थान गरेका थिए। प्रधानमन्त्रीसँगै धर्मपत्‍नी राधिका शाक्य, राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्रचार्य, निजी चिकित्सक दिव्या शाह र परराष्ट्रका उपसचिव इन्दिरा अर्याललगायतको टोली सिंगापुरमा एक साताभन्दा बढी बसेको थियो।

 

धपेडी कम गर्न चिकित्सकले सुझाव दिए पनि आनाकानी गर्दै आएका प्रधानमन्त्री ओलीले पछिल्लो साता अस्वस्थ भएपछि छाउनीमा उपचार गराएका थिए। तर, धपेडी कम गरी आराम गर्न पनि चिकित्सकले सुझाव दिएपछि प्रधानमन्त्री सिंगापुर गएका हुन्।

Facebook Comments

                     

अरुपनि