मेयरको संलग्नतामा १० करोड खर्च गरेर पौडेलको हत्या गरिएको आरोप

गत ५ असारमा सर्लाहीको लालबन्दी नगरपालिका–१ का हत्या गरिउको भनिएका कुमार पौडेलको परिवारले दोषीलाई कारवाहीको माग गर्दै हत्याको सत्य, तथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ ।

सही छानबिन नभए आफूहरु कडा रुपमा प्रस्तुन हुने पनि पीडित परिवारले चेतावनी दिएको छ । आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले यस्तो माग गरेको हो ।

मृतकका भाइ हरिकृष्ण पौडेलले आफ्नो दाइको हत्या भएको तीन महिना बितिसक्दा पनि राष्ट्रिय मानवअधिकार आयोगले घट्नाको सत्य, तथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक नगरेकोमा गुनासो पोखे ।

उनले आफ्ना दाइ कुमारले सागरनाथ वन विकास परियोजनामा बसेका सुकुम्बासीको हितमा आवाज उठाउँदा र पेट्रोल पम्पका लागि सरकारले खरिद गरेको जग्गामा भएको घोटालाको विषयलाई जोडदार रुपमा उठाउँदा सरकारले निशाना बनाएको आरोप लगाए ।

उनले सरकारले १८ देखि १९ करोडको जग्गा घोटाला गरेको र सुकुम्बासीको जग्गामा पार्टीहरु मिलेर २१ करोडको जग्गा कब्जा गरेको दाबी पनि गरे ।

उनले दाइलाई मार्न बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, श्याम परदेशी र सागरनाथ वन परियोजनाको मिलेमतो रहेको दाबी गरे । दाइको हत्या गर्न उनीहरूले १० करोड खर्च गरेको पनि पौडेलको आरोप छ ।

दाईलाई हत्या गरेर मार्नुपर्छ भनेर सरकारसामू डेलिगेशन आउनेमा भरतकुमार थापा, श्याम परदेशी, सागरनाथ परियोजनाका प्रतिनिधि, प्रदेश सांसद डिल्ली उप्रेती, बसन्तराज भट्टराई, कमल बुढाथोकी र ढाचा वाग्ले रहेको पनि उनको दाबी थियो ।

उनले आफ्नो दाइको दोहोरो भिडन्तमा नभई सरकारले खासगरी गृह मन्त्रालयले सुनियोजित ढंगले हत्या गरेको आरोप लगाए । उनले भने, ‘यदि दोहोरो भिडन्तमा मारिएको थियो भने मेरो दाइको शरिरमा गोली लागेको हुनुपर्ने थियो, तर उहाँले लगाएको वस्त्रमा गोली लागेको थिएन ।’

प्रतिवेदनमा ६ वटा गोली लागेको भन्ने उल्लेख गरेको छ तर मृतकको शरीरमा १५ गोली लागेको उनको दाबी छ । उनले भने, ‘हामीलाई दाइको लास जबर्जस्ती जिम्मा लगाइयो, राष्ट्रिय मानवअधिकार आयोगले कुनै पनि न्याय दिलाउन सकेन, न्याय माग्न आयोगको ढोकामा जाँदा अपमानित भयौं ।’

कार्यक्रममा मृतककी श्रीमती कला पौडेलले सरकारले आफ्नो श्रीमानकाे हत्यालाई दोहोरो भिडन्त भने पनि गैरन्यायिक हत्या भएको दाबी गरिन् । उनले श्रीमानलाई ‘इन्काउन्टर’ मा नभएर कुटपिट तथा शरीर थिलथिलो बनाएर नियन्त्रित बनाई हत्या गरेको बताइन् ।

उनले राष्ट्रिय मानवअधिकार आयोग, गृह मन्त्रालय, सरकारलाई सत्य, तथ्य छानबिनका लागि दबाब दिएकी छिन् ।

कार्यक्रममा मृतककी आमा दुर्गादेवी पौडेलले भनिन्, ‘तीन छोरीपछिको एक मात्र छोरा थियो, त्यसलाई पनि सरकारले योजनाका साथ मारिदियो, मेरो बाँच्ने साहारा खोस्यो ।’ छोराको हत्या भएको समयमा १३ हजार मलामी देख्दा मेरो एक मात्र छोरा होइन रहेछ, मेरा छोराहरू त धेरै रहेछन् जस्तो लागेको थियो, किनकि त्यतिबेला सबैले हत्यारा पत्ता लगाउन हामी सहयोग गर्छाैं भनेर आशा देखाएका थिए । तर, आज ती कुनै पनि छोराहरूले मलाई यो न्यायको लडाइमा साथ दिन आएनन् ।’

छोराको हत्या भएपछि सयौं पत्रकार र मानवअधिकार पुगेको सुनाउँदै उनले तर आज यतिका दिनसम्म पनि न्याय नपाएकोमा गुनासो पोखिन् । उनले भनिन्, ‘म ७० वर्षको बृद्ध कहाँ जाऊँ ? को सँग न्याय मागौँ ? आज म न्यायका लागि न्यायको भीख माग्दै यहाँसम्म आएको छु । मलाई न्याय चाहियो ।’ उनले न्याय नपाए आफू राष्ट्रिय मानवअधिकार आयोगको ढोकामा गएर मर्न तयार भएको जनाइन् ।

Facebook Comments

                     

अरुपनि