एसीड पिडित खातुनलाई अस्पतालमै भेटेर राजु लामाले गाए `तिमीलाई देखेर हिमल हासेको…´

काठमाडौं : ‘द भ्वाइस अफ नेपाल’का कोच राजु लामाले उनको डाइ हार्ट फ्यान अस्पतालको शैयामा रहेको थाहा पाएपछि मन थाम्न सकेनन्। उनको फ्यान एसिड आक्रमणबाट पीडित रहेको थाहा पाएपछि उनी कीर्तिपुर अस्पताल नै पुगे। उनी मुस्कान खातुनलाई भेट्न गएका हुन्, जसलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले एसिड प्रहार गरेका थिए।

तेजाब आक्रमणमा परेकी वीरगंजकी १४ वर्षीया मुस्कानको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। पीडामा रहेकी उनलाई हिजो (मंगलबार) भने घाउमा मल्हम लगाएकै महशुस भयो। उनी जसको फ्यान थिइन् उनै आफ्नो अगाडि देख्दा निकै खुसी भइन्।

अस्पताल पुगेका लामा र उनको ब्यान्ड मंगोलियन हर्टको टोलीले मुस्कानलाई भेटेसँगै आफूले १८ वर्ष अघि गाएको ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएर सुनाए।

ब्याण्ड मेम्बरमार्फत उनले खातुन आफ्नो फ्यान रहेको र हाल एसिड आक्रमणका कारण अस्पतालमा उपचार गरिरहेको थाहा पाएका थिए।

गायक लामाले पहिलोपोस्टसँग भने, ‘मुस्कानले भेट्ने इच्छा राखेको थाहा पाएँ। पीडामा रहेकी उनलाई इमोशनल सपोर्टको लागि अस्पताल पुगेँ।’

मंगोलियन हर्टका गायक लामा यतिबेला ‘द भ्वाइस अफ नेपाल’मा व्यस्त छन्। द भ्वाइसमा कोचको भूमिका सम्हालिरहेका राजुको मुस्कानको चर्चा पनि निकै हुने गरेको छ।

Facebook Comments

                     

अरुपनि