आज नवरात्रीको तेस्रो दिन चन्द्रघण्टा देवीको पुजा गरिदै

हिन्दूहरुको महान् पर्व बडादसैंको तेस्रो दिन आज नवदुर्गाका नौवटा रूपमध्ये ‘चन्द्रघण्टा’ देवीको पूजापाठ गरिदै छ ।

यस दिनमा विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता रहेको छ।

उनको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले चन्द्रघण्टा देवी भनिएको हो । उनलाई सुनजस्तो पहेंलो शरीर र दसवटा हात भएकी देवी भनेर देवीभागवतमा उल्लेख छ।

हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुबाण, कमल पुष्प, अक्षमाला धारण गरी वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ मानिएको छ।

उनको घन्टको ध्वनिले भूतप्रेत भाग्ने र आसुरीभाव भएका शत्रुहरू परास्त होऊन् भन्ने कामनाले उनको पूजा गर्नुपर्ने धार्मिक विश्वास छ । चन्द्रघण्टाको उपासना गर्नाले सिंह या बाघको जस्तै पराक्रम तथा निडर हुनुका साथै सद्गुण, वीरता तथा विनम्रताको विकास भई शरीरमा कान्ति र गुणको वृद्धि हुने विश्वास गरिन्छ ।

चन्द्रघण्टा देवीको पूजासँगै आजको दिनमा विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ। नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी, पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको छ ।

Facebook Comments

                     

अरुपनि