अन्तर्राष्ट्रिय २६ मंसिर २०७९
पाकिस्तान–तालिबानबीच तनाव बढ्यो, गोलीबारीमा ६ पाकिस्तानी मारिए

ओमकार टाइम्स

पाकिस्तान र अफगानिस्तानबीच बलुचिस्तान–कन्दाहार सीमामा आइतबार दिउँसो भएको गोली हानाहानमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

यस हमलापछि जारी एक विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलमाथि बिना उत्तेजना  नै हमला गरेको आरोप लगाएको छ ।

पाकिस्तानी सेनाले यो पनि बताएको छ कि यो हमलामा अफगानिस्तानको सुरक्षाबलले आर्टिलरी र गोला–बारुदको प्रयोग गरेपछि पाकिस्तानी सीमा सुरक्षा बलको तर्फबाट जवाफी कारवाही गरिएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दाहारका प्रहरी प्रवक्ता हाफिज साबेरले यस हमलामा एक अफगान सैनिकको पनि मृत्यु भएको र तीन सर्वसाधारणसहित अन्य १० जना घाइते भएको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले ट्वीट गर्दै भनेका छन्, ‘अफगान सीमा बलको अनावश्यक गोलीबारीका कारण चमनमा धेरै पाकिस्तानीहरू मारिएका छन् र एक दर्जनभन्दा बढी घाइते भएका छन् । यो दुर्भाग्यपूर्ण छ र म यसको घोर भर्त्सना गर्दछु । अफगानिस्तानको अन्तरिम सरकारले यस्तो घटना दोहोरिन नदिन सुनिश्चित गर्नुपर्छ ।’

अफगान सरकारका एक अधिकारी नूर अहमदले दुई पक्षबीचको वार्तापछि घटनास्थलको अवस्था सामान्य भएको बताए ।

किन भयो गोलीबारी ?

रोयटर्सका अनुसार अफगानिस्तानको सुरक्षा बलसँग सम्बन्धित स्रोतले बताएको छ कि पाकिस्तानी सुरक्षा बलले अफगान सुरक्षाकर्मीलाई अफगान क्षेत्रको सीमामा नयाँ चेकपोस्ट निर्माण गर्नबाट रोकेपछि दुई पक्षबीच झडप भएको हो ।

यसै क्रममा चमन जिल्लाका प्रहरी अधिकृत अब्दुल्लाह कासीले पाकिस्तानी अखबार डनलाई पाकिस्तानी भूमिमा मोर्टार गोली खसेपछि दुई पक्षबीच गोली हानाहान सुरु भएको बताएका छन् ।

अफगानिस्तानको सीमावर्ती प्रान्त कान्दाहारको चमन पोष्ट दुई देशबीचको व्यापार र आवतजावतको मार्ग हो ।

यस हमलापछि पाकिस्तान सरकारले अफगानिस्तान सरकारसँग वार्ता गरेर यस विषयमा गम्भीरता स्पष्ट गरेको छ । यस्ता घटना दोहोरिन नदिनका लागि कडा कदम चाल्न माग गरिएको छ ।

तर यस क्षेत्रमा पाकिस्तान र अफगानिस्तानबीच हिंसात्मक झडप भएको यो पहिलो पटक भने होइन ।

गत महिना पनि यस्तै संघर्षपछि यो सडक केही दिनसम्म बन्द रह्यो । त्यस अवस्थामा, एक हतियार अफगान व्यक्तिले सीमा पार गरेर पाकिस्तानी सुरक्षा बलमाथि आक्रमण गरे, जसमा एक पाकिस्तानी सैनिकको मृत्यु भयो र दुई जना घाइते भए ।

यससँगै गत महिना सडक निर्माणको विषयमा विवाद भएपछि खैबर–पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सीमा पारबाट अफगानिस्तानको गोलीबारीमा दुई बालबालिका र तीन अर्धसैनिक सिपाहीसहित आठ जना घाइते भएका थिए ।



प्रतिक्रिया

सम्बन्धित समाचार