स्वास्थ्य २१ असार २०८१
समय अगावै महिनावारी हुनु साँच्चै खतरनाक हो ?

एजेन्सी

 केही दशक अघिको तुलनामा अहिले किशोरीहरू कम उमेरमै महिनावारि भइरहेका छन् । प्रदूषित हावाका कारण यस्तो भएको हो भनेर भनिन्छ । केही दशकदेखि विश्वका विभिन्न देशका वैज्ञानिकहरूले अघिल्लो पुस्ताको तुलनामा किशोरीहरू कम उमेरमा युवावस्थामा प्रवेश गरिरहेको तथ्यलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् ।

केटीहरू पहिलो पटक महिनावारी हुनुलाई वैज्ञानिकहरूले रजस्वला भनेका छन् । किशोरावस्थाका अन्य विशेषताहरू छिटै देखिन थाल्छ । एक अनुमान अनुसार अहिले अमेरिकी किशोरीहरूको महिनावारी एक शताब्दीअघिका किशोरीहरूको तुलनामा चार वर्ष पहिले सुरु भइरहेको छ । मेमा जारी गरिएको नयाँ तथ्याङ्कअनुसार सन् १९५० र १९६९ को बिचमा जन्मेका केटीहरूको महिनावारी सामान्यतया १२.५ वर्षको उमेरमा सुरु हुने गरेकोमा सन् २००० को सुरुमा जन्मिएका केटीहरूमा यो उमेर औसत ११.९ वर्ष थियो ।

छिट्टै महिनावारी हुनुको अर्थ

अमेरिकामा मात्रै होइन विश्वभरि नै यस्तो प्रवृत्ति देखिएको छ । दक्षिण कोरियाली वैज्ञानिकहरूले केटीहरूमा समयपूर्व यौवनका लक्षण कसरी देखा पर्न थाल्यो भनेर चिन्ता व्यक्त गरेका छन् । यी वैज्ञानिकहरूका अनुसार छिटै किशोरावस्थामा प्रवेश गर्ने वा आठ वर्षको उमेर नपुग्दै महिनावारी हुने घटना सन् २००८ देखि २०२० सम्म १६ गुणा बढेको छ । अमेरिकाको अटलान्टास्थित एमोरी युनिभर्सिटीका एसोसिएट प्रोफेसर अड्रे गास्किन्स भन्छिन्, ‘हामीले यो पनि देखिरहेका छौँ कि कम उमेरमै युवावस्थामा प्रवेश गर्ने क्रम तल्लो सामाजिक–आर्थिक समूह र जातीय अल्पसङ्ख्यक समूहहरूमा बढी छ । दीर्घकालीन अवधिमा यसले स्वास्थ्यमा ठुलो असर पुर्‍याउनेछ ।’

युवावस्थाको प्रारम्भिक सुरुवातले अन्य धेरै कुराहरू परिवर्तन गर्ने र वयस्कतामा दूरगामी परिणाम निम्त्याउने सक्ने ग्यास्किन्स लगायत अनुसन्धानकर्ताहरूको मुख्य चिन्ता छ । यसले प्रजनन क्षमता त कम हुन्छ नै छिटै रजोनिवृत्ति (मेनोपज) गराउने र यसको असर उमेरमा पनि पर्न सक्ने तथ्याङ्कले देखाउँछ । समयपूर्व यौवनावस्थामा प्रवेश हुनुलाई स्तन र पाठेघरको क्यान्सर, मोटोपना, टाइप २ मधुमेह र मुटुसँग सम्बन्धी अन्य रोगहरू जोडेर हेर्ने गरिएको छ ।

यसको कारण अनेक हुन सक्छ

यस्तो किन हुन्छ भनेर वैज्ञानिकहरूले अझै पनि बुझ्ने कोसिस गरिरहेका छन् । क्यालिफोर्निया विश्वविद्यालयका जनस्वास्थ्यका प्राध्यापक ब्रेन्डा स्केनाजीले यसको कारण बताएकी छिन् । शरीरका कोशिकाहरू लामो समयसम्म एस्ट्रोजेन जस्ता सेक्स हर्मोनको सम्पर्कमा रहे भने यसबाट ट्युमर बढ्ने जोखिम बढ्न सक्छ । किनकि यो हर्मोनले कोशिकाहरूको वृद्धि गराउँछ । उनी भन्छिन्, ‘साथै, केही सिद्धान्तका अनुसार लामो समयसम्म हर्मोनको सम्पर्कले प्रजनन क्यान्सरको जोखिम बढाउन सक्छ ।’

यसबाहेक सामाजिक रूपमा पनि कुराहरू हेरिन्छ । छिटै किशोरावस्थामा प्रवेश गर्ने केटीहरू छिटै यौन रूपले सक्रिय हुने सम्भावना बढी हुने पनि स्केनाजी बताउँछिन् । उनी भन्छिन्, ‘अमेरिकामा अवैध रूपमा गर्भपतन भइरहेको छ र गर्भ निरोधक साधन उपलब्ध छैन, यो डरलाग्दो अवस्था हो । यसले किशोर किशोरीहरूमा अनिच्छित गर्भधारणको सङ्ख्या बढ्नेछ, अवस्था डरलाग्दो छ ।’ यौवनावस्था शरीरमा दुई महत्त्वपूर्ण सञ्चार सञ्जालका कारण सुरु हुन्छ, जसलाई हाइपोथ्यालेमिक–पिट्युटरी–एड्रेनल (एचपीए) र हाइपोथैलेमिक–पिट्युटरी–गोनाडल (एचपीजी) अक्ष भनिन्छ ।

यसले मस्तिष्कको हाइपोथैलेमस भनिने भागलाई जोड्छ । हाइपोथ्यालेमसले भोकदेखि तापक्रमसम्म नियन्त्र गर्नुको साथै र शरीरका अन्य कार्यहरूलाई अलग अलग हर्माेन–श्राव ग्रन्थीको साथमा नियन्त्रित गर्छ । १० देखि २० वर्ष पहिलेसम्म वैज्ञानिकहरू छिटै यौवनावस्था देखिनुको एक मात्र कारण बाल्यकालको मोटोपन हो भन्ने विश्वास गर्थे । तर अहिले आएर यसको केवल यही एक मात्रै कारण होइन र यसको पछाडि अन्य धेरै कारकहरू पनि छन् भन्ने थाहा भएको छ ।

वायु प्रदूषण महत्त्वपूर्ण कारण हुन सक्छ

पछिल्ला तीन वर्षमा गरिएका अन्य धेरै अध्ययनहरूले एउटा अचम्मको कारणतर्फ औँल्याएका छन्, त्यो हो वायु प्रदूषण । यी अनुसन्धान धेरैजसो दक्षिण कोरियाली वैज्ञानिकहरूले गरेका छन् । आईक्यूएयर इन्डेक्सका अनुसार सियोल, बुसान र इन्चेन विश्वका १०० सबैभन्दा प्रदूषित सहरहरूमा पर्छन् । सियोलको इवा वुमेन्स युनिभर्सिटीले हालै एउटा समीक्षा प्रकाशित गरेका थिए । सो समीक्षामा प्रदूषक र किशोरीहरूमा छिटै यौवनावस्था देखिनुबीचको सम्बन्धबारे लेखिएको छ । यसका केही महत्त्वपूर्ण कारणहरू सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड र ओजोन जस्ता विषाक्त ग्यासहरू हुन् । यी ग्यासहरू सवारीसाधनबाट निस्कने धुवाँ र उत्पादन कारखानाबाट निस्कने फोहोरबाट वातावरणमा आउँछन् ।

सन् २०२२ मा पोल्यान्डमा एउटा अध्ययन गरिएको थियो । कोइला जलाउने कारखानाहरूको कारण पोल्यान्डको वायु गुणस्तर अति नै खराब छ । यो अध्ययनमा १ हजार २५७ महिलाको तथ्याङ्क जाँच गरिएको थियो । यस क्रममा नाइट्रोजन ग्याससँगको उच्च सम्पर्क र ११ वर्षको उमेरअघिको महिनावारीबिच एक सम्बन्ध पाइएको थियो । सायद यो भन्दा ठुलो समस्या पार्टिकुलेट म्याटर कण (पीएम कणहरू) हो । यी यति साना हुन्छन् कि देखिँदा पनि देखिँदैनन् ।

यी पीएम कणहरू निर्माण स्थलदेखि जङ्गलमा लागेको आगो, बिजुली उत्पादन केन्द्र, सवारी साधनको इन्जिन र धुलै धुलो कच्ची सडकसम्मका स्रोतहरूबाट हावामा आउँछन् । जो केटीहरू आमाको गर्भमा वा बाल्यकालमै पीएम २.५ र पीएम १० पार्टिकल्सको सम्पर्कमा आउँछन्, उनीहरूको महिनावारी सानै उमेरमा हुने आशङ्का बढ्ने अक्टोबर २०२३ मै ग्यास्किन्स र सहकर्मीहरूले फेला पारेका थिए ।

कहीँ पनि पुग्न सक्छ पीएम २.५ कण

‘पीएम २.५ कणहरू सजिलै रगतमा पनि छिर्न सक्छन् । सास फेर्दा यी कणहरू फोक्सोमा पुग्छन् । ठुला कणहरू जसरी यी कणहरू फिल्टर हुँदैनन् अनि शरीरका अन्य अङ्गहरूमा पुग्न सक्छन् । हामीले केही पीएम २.५ कण प्लेसेन्टा, भ्रूणका तन्तु र अण्डाशयमा जम्मा भएको देखेका छौँ, तिनीहरू सबै ठाउँमा पुग्न सक्छन् ।’ ग्यास्किन्स भन्छिन् । घर भित्रको हावाबाट लिइएको नमुनाहरूको अध्ययनले पनि यी कणमा पाइने रसायनहरूले शरीरको वृद्धिको लागि महत्त्वपूर्ण हार्मोनलाई असर गर्न सक्छ, जसले युवावस्थाको प्रारम्भिक सुरुवात हुन सक्छ भन्ने देखाएका छन् ।

‘यो हाम्रो प्रारम्भिक मूल्याङ्कन हो जुन केटीहरू पीएम–२.५ कणहरूसँग बढी सम्पर्कमा आएका थिए उनीहरूमाथि अन्य रसायनहरूले पनि असर गरे, जसले शरीरमा यस्ता परिवर्तनहरू ल्याए कि यौवनावस्थाको शुरुवात छिटै भयो ।’ ग्यास्किन्स भन्छन् । कम उमेरमै केटीहरूको शरीरमा परिवर्तन हुनुको पछाडि धेरै कारकहरू हुन सक्ने उनी भन्छिन् । पीएम–२.५ र अन्य प्रदूषकको भूमिका एउटा उदाहरण मात्र हो भन्ने उनको विश्वास छ ।

हाम्रो बदलिँदै गइरहेको संसार र बालबालिकाको विकासमा यसको प्रभावबारे हामीहरूलाई अझै पनि धेरै कुरा थाहा छैन नभएको स्केनाजी भन्छिन् । माइक्रो प्लास्टिक र जलवायु परिवर्तन जस्ता कारकहरूको भूमिकाबारे हामी धेरै हदसम्म अनभिज्ञ रहेको उनको भनाइ छ । “मलाई लाग्छ कि हामी अझै धेरै कम जान्दछौँ,“ उनी भन्छिन् । तातिँदै गएको जलवायुले कसरी रजस्वला प्रभावित भइरहेको छ भन्ने हामीलाई अझै पनि थाहा नभएको उनी बताउँछिन् ।





प्रतिक्रिया

सम्बन्धित समाचार