समाचार २९ जेठ २०८१
उडानको समयमा परेकाे असिनाले अस्ट्रियन एयरलाइन्सको विमानमा व्यापक क्षति

एजेन्सी

अष्ट्रियन एयरलाइन्सको एउटा विमान असिनाले क्षत विक्षत भएको छ । आकाशमा उडिरहेको समयमा आइतबार असिनाले हिर्काएर विमान क्षतिग्रस्त भएको अस्ट्रियन एयरलाइन्सले भनेको छ । 

यस्तो समयमा विमानमा टर्बुलेन्स पनि हुन सक्छ । घटनाको समयमा विमानमा १७३ जना यात्री र ६ जना क्रु मेम्बर थिए । विमान स्पेनको पाल्मा डे मालोर्काबाट अस्ट्रियनको भियन्ना जाँदै थियो । विमान सुरक्षित रूपमा भियन्ना अवतरण गरिएको छ ।

असिनाले हिर्काएर विमानको अगाडिको भाग भाँच्चिएको, ककपिटको अगाडिको हिस्सा बाङ्गिएको अनि ककपिटको झ्यालको सिसा चर्किएर फुटेको सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरले देखाएको छ । असिनाका कारण विमानमा अन्य क्षति भएको छ कि भनेर चेकजाँच भइरहेको बताइएको छ । 

गएको महिना सिंगापुर एयरलाइन्सको विमान आकाशमा उडिरहेको समयमा टर्बुलेन्समा फस्दा एक जना यात्रीको मृत्यु भएको थियो भने ७० जनाभन्दा धेरै घाइते भएका थिए । त्यसको केही दिन पछि दोहाबाट डब्लिनतर्फ गइरहेको कतार एयरवेजको विमान पनि टर्बुलेन्समा फस्दा १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया