काठमाडौँ । यसै वर्ष नेपालले ‘एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता’ आयोजना गरेको थियो । अप्रिल १८ देखि मे २ तारिखसम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएको त्यो प्रतियोगितामा १० वटा राष्ट्रको सहभागिता रहेको थियो । >
त्यो प्रतियोगिता नेपालका लागि निकै महत्त्वपूर्ण थियो । त्यो प्रतियोगितामा पहिलो हुने राष्ट्रले एसिया कपमा सहभागिता जनाउने अवसर पाउने प्रावधान थियो । नेपालले घरेलु मैदानमा यति महत्त्वपूर्ण प्रतियोगिता खेल्ने अनि दर्शक नओइरिने प्रश्नै आउँदैन । >
नेपालले खेलेको प्रत्येक खेलमा दर्शकको ओइरो लाग्यो । समूहगत चरणको पहिलो खेलमा नेपालले मलेसियालाई हरायो । दोस्रो खेलमा नेपालले ओमानलाई पाखा लगायो । नकआउट चरणमा प्रवेश गर्न नेपालका लागि यो दुई जितमात्र पर्याप्त थिएन ।>
त्यसपछि नेपालले तेस्रो खेलमा अप्रिल २४ मा साउदी अरेबियासँग खेल्नु पर्ने थियो । खेल सुरु हुनुभन्दा निकैअघि कीर्तिपुर रंगशालामा दर्शकको थामिनसक्नु घुइँचो लागिसकेको थियो । तर, निरन्तरको वर्षाका कारण खेल सुरु सकिरहेको थिएन । >
निरन्तर भारी वर्षा हुँदा पनि क्रिकेट भनेपछि हुरुक्के हुने दर्शक भने छाता ओढेर खेल सुरु हुने क्षणको प्रतीक्षा गरिरहे । राष्ट्रिय झण्डा बोकेर रंगशाला पुगेका दर्शकहरू झरीमा रुझ्दै एकतमासले नेपालको पक्षमा नारा लगाइरहेका थिए । >
त्यो दृश्य देखेर नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईको मन पनि पग्लियो । त्यसपछि उनले आफ्ना खेलाडीलाई मैदानमा जाने र दर्शकलाई अभिवादन गर्ने निणर्य लिए । तर, केही पदाधिकारीले वर्षामा भिज्दा खेलाडी बिरामी हुनसक्ने भएकाले त्यसो नगर्न सुझाव दिए ।>
तर, प्रशिक्षक देशाईले कसैको कुरा सुनेनन् । दर्शकको यति धेरै माया पाउनु खेलाडीका लागि निकै ठुलो सौभाग्य भएको जवाफ फर्काए । उनी खेल पदाधिकारीहरूलाई दर्शक नै खेलाडीको सबैभन्दा ठुलो सम्पत्ति भएको बताउँदै आफ्ना खेलाडीलाई लिएर झरीमा रुझ्दै मैदानमा ओर्लिए । >
त्यसपछि ठुलो सङ्ख्यामा उपस्थित दर्शकले आफ्ना खेलाडीको पक्षमा नारा लगाए । खेलाडीले पनि मैदानमा चारैतिर घुमेर दर्शकप्रति आभार व्यक्त गरे । वर्षाका कारण त्यो खेल रद्द भयो र दुवै टोलीले अङ्क बाँडे । अन्ततः त्यही प्रतियोगितामा पहिलो भएर नेपाली टोली एसिया कप खेल्न छनोट भयो । >
यसले पनि देखाउँछ, नेपाली क्रिकेटको सबैभन्दा ठुलो सुन्दर पक्ष भनेकै समर्थक हुन् । घरेलु मैदानमा जुनसुकै स्तरका प्रतियोगिता किन नहोस्, दर्शकको ओइरो लाग्छ । क्रिकेट भनेपछि हुरुक्कै हुने दर्शक नेपाली क्रिकेटको सबैभन्दा ठुलो शक्ति पनि हो । >
पछिल्लो समय घरेलु रंगशालामा मात्र होइन, नेपाली समर्थक आफ्ना खेलाडीको हौसला बढाउन विदेशी भूमिसम्म धाउने परम्परा सुरु भएको छ । अहिले श्रीलङ्का र पाकिस्तानमा एसिया कप आयोजना भइरहेको छ । नेपालले एसिया कपमा मुल्तानसँग पहिलो खेल खेल्दा पनि नेपालबाट केही समर्थक आफ्नो टोलीको हौसला बढाउन पाकिस्तान पुगेका थिए ।>
सोमबार नेपालले एसिया कपमा बलियो भारतसँग दोस्रो खेल खेल्यो । त्यो खेल श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय रंगशालामा भएको थियो । त्यो खेलमा त झनै आफ्ना खेलाडीको हौसला बढाउन नेपालबाट सैयौँको सङ्ख्यामा समर्थक श्रीलङ्का पुगेका थिए । माथि उल्लेख गरिएजस्तै नेपाल र भारतबीचको त्यो खेल पनि पटक—पटक वर्षाका कारण अवरुद्ध हुन पुग्यो । तर, नेपाली समर्थकले भने आफ्ना खेलाडीको पक्षमा निरन्तर हुटिङ गरिरहे ।>
त्यसपछि नेपाली समर्थकको त्यो व्यवहारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान पनि आफूतर्फ तान्यो । आफ्नो देश र खेलाडीप्रति नेपाली समर्थकको यो हदसम्मको मायाले विभिन्न सञ्चारमाध्यममा पनि स्थान पायो । ‘सायद, यसअघि यस्तो दृश्य भारतमा मात्र देखिन्थ्यो तर, आज आफ्नो टोलीप्रति नेपाली क्रिकेट समर्थकको माया देखेर गजब लाग्यो,’ विश्व चर्चित क्रिकेट पोर्टल क्रिकइन्फोको समाचारमा भनिएको छ । >
आफूभन्दा निकै बलियो टोली भारतसँग खेल्दा टोलीको हौसला बढाउन नेपाली समर्थक राष्ट्रिय झण्डासहित रंगशाला पुगेको र खेल अवधिभर नेपाली समर्थकले एकोहोरो आफ्ना खेलाडीको मनोबल बढाउन हुटिङ गरिरहेको समाचारमा जनाइएको छ । ‘दुई सयभन्दा बढी नेपाली समर्थक हातमा राष्ट्रिय झण्डा बोकेर अनि गालामा नेपालको नक्सा बनाएर रंगशालामा छरिएर बसेका थिए । न त वर्षाले उनीहरूलाई डराउन सक्यो न त प्रतिकूल अवस्थाले । उनीहरू एकतमासले आफ्ना खेलाडीको हौसला बढाइरहेका थिए । त्यो गजबको दृश्य थियो,’ समाचारमा भनिएको छ ।>
समाचारमा एकजना ४५ वर्षीय समर्थकको विषयमा पनि उल्लेख गरिएको छ । तर, उनको नाम भने खुलाइएको छैन । ‘एकजना ४५ वर्षजतिका नेपाली समर्थक निकै अधैर्य देखिन्थे । उनी एकोहोरो नारा लगाइरहेका थिए । उनको जोश देख्दा लाग्थ्यो ४५ वर्षको नभई उनी भर्खर ११ वर्ष पुगेका छन् । ती सबै समर्थक लामो यात्रा गरेर नेपालबाट श्रीलङ्कासम्म पुगेका थिए ।’>
यसैगरी नेपालको एक विद्यालयबाट शैक्षिक भ्रमणका क्रममा श्रीलङ्का पुगेको टोली पनि आफ्ना खेलाडीको हौसला बढाउन केही दिन केन्डीमा रोकिएको समाचारमा जनाइएको छ । ‘हामी शैक्षिक भ्रमणका लागि विद्यार्थीलाई लिएर श्रीलङ्का आएका थियौँ । तर, भाग्यवश हामीले आफ्नो देशले भारतसँग क्रिकेट खेलेको ऐतिहासिक क्षणको साक्षी बन्ने अवसर पायौँ,’ नेपालको राजश्री गुरुकुल विद्यालयका शिक्षक रजिम ढुङ्गेलले भनेका छन् ।>
नेपाली समर्थकको आफ्नो टोलीलाई समर्थन गर्ने रमाइलो शैलीको बारेमा पनि समाचारमा उल्लेख गरिएको छ । समाचारमा भनिएको छ, ‘नेपाली समर्थकहरू राष्ट्रिय झण्डा फहर्याउँदै नेपथ्य ब्यान्डको चर्चित गीत रातो र चन्द्र सूर्य अनि यूट्यूबमा दुई करोडभन्दा बढी पटक हेरिएको कुटुमा कुटुजस्ता गीत गाइरहेका थिए । त्यतिबेला बलियो भारतविरुद्घ नेपालले नौ ओभरमा कुनै पनि विकेट नगुमाई ५३ रन बनाएको थियो । त्यसले उनीहरूको हौसला झनै बढाएको थियो ।’
>
>
>>