४ मङ्सिरमा सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १७ स्थानमा विजयी भएको छ । प्रतिनिधिसभाका १६५ सिटमध्ये माओवादी केन्द्रले १७ सिट जितेको छ। मत गणनाको केही ठाउँको मत परिणाम आउन बाँकी छ तर पार्टीले कुनै पनि स्थानमा अग्रता लिएको छैन । त्यसैले प्रतिनिधिसभामा माओवादी केन्द्रले १७ स्थानमा सीमित भएको छ।>
माओवादी केन्द्रले यस निर्वाचनमा प्रतिनिधिसभामा जितेको १७ स्थानले उसको विगत पनि सम्झाइदिएको छ। माओवादीले यस पटक प्रतिनिधिसभामा १७ सिट जित्नु, यसै वर्ष विस्तृत शान्ति सम्झौताको १७ वर्ष हुनु र माओवादीले २०५२ सालमा सुरु गरेको जनयुद्धमा १७ हजार मानिस मारिनु एउटा संयोग बनेको छ।>
यस पटकको निर्वाचनमा माओवादी केन्द्रले देशैभर प्रतिनिधिसभामा ४५ जना उम्मेदवार उठाएको थियो । सत्ता गठबन्धनमा रहेका कारण पार्टीले गठबन्धनभित्रका अन्य दलहरूका लागि सिट छाड्नुपरेको थियो । गठबन्धनभित्र नेपाली कांग्रेस, नेकपा एस, राष्ट्रिय जनमोर्चा छन् । ४५ सिटमा उम्मेदवारी दिए पनि पार्टीले १७ सिटमा जित हात पारेको छ ।>
यसै वर्ष विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पनि पूरा भएको छ । १० वर्षसम्म द्वन्द्वरत तत्कालीन माओवादी र सरकारबीच ५ मङ्सिर २०६३ सालमा विस्तृत शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए । १ फागुन २०५२ देखि सुरु भएको माओवादी जनयुद्धको औपचारिक अन्त्यको दिन विस्तृत शान्ति सम्झौता भएको दिनलाई नै मानिन्छ।>
राज्य र विद्रोही दुवै पक्षले शान्ति स्थापना गर्ने र आगामी दिनमा हिंसा नगर्ने र द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिने, राज्य र माओवादी दुवै तर्फबाट भएका गैरन्यायिक हत्याको छानबिन गरेर दोषीलाई कारबाही गर्ने उक्त सम्झौतामा उल्लेख छ । शान्ति सम्झौताअनुसार २६ माघ २०७१ मा सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग पनि गठन भएको छ । यी आयोग गठन भएको ८ वर्ष भइसक्दा पनि दुवै आयोग निस्प्रभावी देखिएका छन् ।>
माओवादी द्वन्द्वका पीडितहरूले ती दुवै आयोगबाट न्याय पाउने आशा लगभग मारिसकेका छन्। २ वर्षमा काम सम्पन्न गर्ने गरी यी आयोग बनाइएका थिए। तर, पटकपटक आयोगको म्याद थपिँदै छ तर पीडितहरूको घाउ भने कम भइरहेको छैन । ती आयोगहरूमा परेका ६२ हजारभन्दा बढी मुद्दा अहिले पनि त्यसै थन्किएका छन्।>
यस्तै, अङ्क १७ को अर्को संयोग पनि मिलेको छ । माओवादीले १ फागुन २०५२ मा सुरु गरेको सशस्त्र विद्रोहमा देशभर करिब १७ हजार जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। जनयुद्धको विधिवत् अन्त्य भएको दिन ५ मङ्सिर २०६३ सम्म झण्डै १७ हजार जनाको मृत्यु भएको आँकडा छ।>
त्यस्तै, सरकार र माओवादी दुवैतर्फबाट झण्डै १ हजार ७३० जना बेपत्ता भएको तथ्याङ्क पनि छ। जनयुद्धमा धेरै बेपत्ता र अङ्गभङ्ग भएका छन् । जनयुद्धको क्रममा माओवादीले आफ्नै सेना पनि निर्माण गरेको थियो।>
२५ चैत २०७४ मा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले माओवादी द्वन्द्वमा १७ हजार ८८६ को मृत्यु र १ हजार ७३० जना बेपत्ता गरी कुल १९ हजार ६१६ जनाको मानवीय क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।>>