समाचार स्वास्थ्य १३ मंसिर २०७९
कोरोना बीमाको दाबी भुक्तानी आजदेखि

ओमकार टाइम्स

 निर्जीवन बीमा कम्पनीहरूले आजदेखि कोरोना बीमाको दाबी रकम भुक्तानी गर्ने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यसअघि दिएको निर्देशन अनुसार बीमा कम्पनीहरूले आजदेखि भुक्तानी दिने भएका हुन् ।

बीमा कम्पनीहरूको छाता सङ्गठन बिमक सङ्घले पनि कोरोना बीमाको भुक्तानी सुरु गर्न कम्पनीहरूलाई आग्रह गरेको छ । कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्ने नेपाल बिमक सङ्घले जनाएको छ ।

सङ्घका अनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ । तर, अहिले सरकारले निकासा गरेको र बीमा प्राधिकरणसहित कम्पनीहरूले भुक्तानी गर्नुपर्ने रकम जोड्दा १ अर्ब १ करोड रुपैयाँ मात्रै भुक्तानी गर्न सकिन्छ ।

यो रकमबाट १८ हजार ६० वटा बीमा पोलिसीको मात्रै दाबी गर्न सकिने सङ्घको भनाइ छ । कम्पनीहरूले रकम थप गर्न नमानेपछि सरकारले रकम निकासा गरेको एक महिना बितिसक्दा पनि कोरोना दाबी रकम भुक्तानीमा ढिलाइ भएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीले रकम थप नगर्ने बीमा प्राधिकरणलाई जवाफ दिएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र आफ्नो ८ प्रतिशत दायित्वबापत १४ करोड ५४ लाख रुपैयाँ गरी कुल १ अर्ब १४ करोड ५४ लाख रुपैयाँ यसअघि नै बीमा प्राधिकरणले सङ्घलाई दिइसकेको छ ।

सरकारले पैसा नदिएको भन्दै बीमा कम्पनीहरूले ०७७ चैतदेखि कारोना बीमाको भुक्तानी रोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार