अन्तर्राष्ट्रिय २३ जेठ २०८०
अरब सागरमा नयाँ चक्रवात बिपरजोय बन्दै

एजेन्सी

नयाँ दिल्ली । भारतको मौसम विज्ञान विभागले मंगलबार दक्षिणपूर्व अरब सागरको निम्न चापीय क्षेत्र उत्तरपश्चिमतर्फ अगाडि बढ्न सक्ने बताएको छ । यसमा बनेको बिपरजोय चक्रवात अझै तीव्र बन्न सक्ने पनि विभागले बताएको हो ।

बिपरजोयको नाम बंगलादेशले दिएको हो । मौसम विभागको बुलेटिनमा निम्न चापीय क्षेत्र बिहान साढे पाँच बजे पश्चिम–दक्षिणपश्चिम गोवाबाट करिब ९२० किलोमिटर, दक्षिण–दक्षिणपश्चिम मुम्बईबाट १ हजार १२० किलोमिटर, दक्षिण पोरबन्दरबाट १ हजार १६० किलोमिटर र पाकिस्तानको दक्षिण कराँचीबाट १ हजार ५२० किलोमिटर टाढा बनेको थियो । 

यसअघि सोमबार विभागले दक्षिणपूर्व अरब सागरमाथि निम्न चापीय क्षेत्र बन्ने र आगामी दुई दिनमा यसमा तीव्रता आउने कारण चक्रवाती हावाले मनसुनलाई केरलको तटतर्फ बढ्ने क्रमलाई गम्भीर रूपमा प्रभावित गर्न सक्ने बताएको थियो । यद्यपि, विभागले केरलमा मनसुनको आगमनको सम्भावित मिति भने बताएको थिएन ।

निजी मौसम पूर्वानुमान एजेन्सी ‘स्काइमेट वेदर’ का अनुसार करेलमा आगामी ८ वा ९ जुनमा मनसुन पुग्न सक्ने बताएको छ । तर, हल्का वर्षाको सम्भावना मात्र रहेको छ । एजेन्सीले पनि अरब सागरमा निर्मित मौसमको यो शक्तिशाली प्रणालीले भित्री क्षेत्रमा मनसुनको आगमनलाई प्रभावित गर्न सक्ने बताएको छ । यसको प्रभावले तटीय क्षेत्रमा मनसुन पुगे पनि पश्चिमी क्षेत्रमा अगाडि बढ्न संघर्ष गर्नुपर्ने हुनसक्छ ।

दक्षिण पश्चिम मनसुन आमरुपमा एक जुनदेखि सात दिनको मानक विचलनका साथ केरलमा प्रवेश गर्दछ । मेको मध्यमा विभागले चार जुनसम्म केरलमा आउन सक्ने बताएको थियो । दक्षिण–पूर्वी मनसुन यसअघि २९ मे, २०२१ मा, ३ जुन, २०२० र १ जुन, २०१९ मा पुगेको थियो । विभागले पूर्वमा अल नीनोको स्थिति विकसित भए पनि दक्षिण–पूर्वी मनसुनको मौसममा भारतमा सामान्य वर्षा हुने अनुमान गरेको थियो ।

केरलको मनसुनमा ढिलाइ हुँदा देशका अन्य हिस्सामा पनि मनसुन ढिलो पुग्छ भन्ने नहुने वैज्ञानिकहरूले बताएका छन् । यसले मनसुनको दौरान देशभर हुने कुल वर्षा पनि असर नपुग्ने उनीहरूको भनाई छ । 





प्रतिक्रिया

सम्बन्धित समाचार