समाचार २३ कार्तिक २०७९
कतार विश्वकप आयोजना हुने ८ वटै रंगशालामा एयर कन्डिसन, अरु के के छन् रोचक तथ्य ?

ओमकार टाइम्स

कतारमा दुई सातापछि सुरु हुने २२ औँ विश्वकप फुटबलका खेलहरु विभिन्न ८ वटा रंगशालामा आयोजना हुँदैछन्। ती सबै रंगशाला पूर्ण एयर कन्डिसनयुक्त छन्।विश्वकपका सबै खेलहरु पूर्ण एयर कन्डिसनयुक्त रंगशालामा आयोजना हुन लागेको यो पहिलोपटक हो। विश्वकप यसअघि जुन जुलाईमा हुने गरेको भएपनि कतारमा उक्त समयमा अत्यधिक गर्मी हुने भएका कारण विन्टर समयमा आयोजना हुन लागेको हो।

विश्वकप विन्टर समयमा आयोजना हुन लागेको पहिलोपटक हो। विन्टरमा कतारमा नोभेम्बरमा २६ डिग्रि र डिसेम्बरमा २१ डिग्रि सेल्सियससम्म तापक्रम हुने गर्छ।

विश्वकप फुटबलको इतिहासमा कम संख्यामा रंगशाला प्रयोग हुन लागेका संस्करणमा कतार विश्वकप पनि पर्दैछ। यसअघि सन् १९७८ को विश्वकप आयोजना गर्न अर्जेन्टिनाले ६ वटा रंगशाला प्रयोग गरेको थियो। अघिल्लो रुस विश्वकपमा १२ वटा रंगशालामा प्रतियोगिताका खेलहरु आयोजना भएका थिए।

तीमध्ये १० वटा नयाँ बनाइएको थियो। यसपटक कतार विश्वकप आयोजना हुन लागेका ८ मध्ये ७ वटा रंगशाला नयाँ रहेका छन्। विश्वकपकै लागि ती रंगशाला बनाइएका हुन्। ८० हजार दर्शक क्षमताको लुसाइल रंगशालामा प्रतियोगिताको फाइनल हुने छ। यो रंगशाला विश्वकपकै लागि तयार भएको हो।

कतार विश्वकप इतिहासकै सबैभन्दा महँगो बन्दै छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार कतार विश्वकपको रंगशाला, राजमार्ग र होटललगायत पूर्वाधार निर्माणका लागि मात्र २ सय बिलियन डलर खर्च भएको उल्लेख गरेका छन्। कतार विश्वकप आयोजना गर्ने भौगोलिक हिसाबले इतिहासकै सबैभन्दा सानो देश हो। यसअघि स्वीट्जरल्यान्ड सबैभन्दा सानो आयोजकका रुपमा रहेको थियो।

सन् १९५४ को विश्वकप आयोजक स्वीट्जरल्याण्ड, कतारभन्दा भौगोलिक हिसाबले तीन गुणा ठुलो हो भने त्यतिबेला विश्वकपमा पनि १६ टोली मात्र सहभागी थिए। यस्तै कतार पहिलोपटक विश्वकप खेल्न लागेको पहिलो आयोजक देश पनि हो।

यसअघि जापानलाई सन् २००२ को विश्वकप आयोजना गर्न दिने निर्णय हुँदा जापानले त्यसअघि विश्वकप खेलेको थिएन तर जापानले विश्वकप आयोजना गर्नुअघि नै सन् १९९८ को विश्वकप छनोट भएर खेल्न सफल भएको थियो।

प्रतिक्रिया