जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ–नयाँ कुराहरुलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका हुन् । >
उनले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहँुच भएमा देशमा प्रविधिको बिस्तार गर्न सहज हुने बताए । उनले राज्यले कुनै पनि प्रकारका प्रविधिहरुको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए । प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रुपमा ध्यान पुर्याउनुपर्ने बताए । उनले प्रविधिहरुको प्रयोग गर्दैगर्दा त्यसको सुरक्षाको प्रत्याभुति दिलाउन सक्नुपर्ने समेत बताए । >
उनले भने– ‘राज्यका संरचनामा सबभन्दा पहिला बुझ्न सक्ने मान्छे हुनुपर्यो । नयाँ प्रविधिलाई । हामीकहाँ उदाहरणहरु छन् छिमेकी मुलुकहरुमा कम्प्युटर प्रयोग गर्न हुन्न भन्ने खालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शीर्षस्थ स्थानमा हुनुहुन्थ्यो । यो किन हुन्छ भन्दाखेरी सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिँदाखेरी हाँस्यास्पद स्थितिहरु पनि हामीले देख्ने गरेका छौँ । त्यो भएर सकेसम्म राजनीतिक ठाउँमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भयो भने प्रविधिको विस्तार गर्न सहज हुन्छ ।’ >
उनले सूचना र प्रविधिको आजको युगमा कितावमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गरे । विज्ञान, प्रविधिको प्रयोग तथा बिस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उनले बताए ।>