समाचार ९ श्रावण २०८१
प्रस्तावित निर्वाचन आयुक्त प्रधानकाे सुनुवाइ आज हुँदै

ओमकार टाइम्स संवाददाता

निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुने भएको छ ।

आज दिउँसो १ बजे संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्न लागिएको हो । यसअघि रोकिएको प्रधानको सुनुवाइको कार्यक्रम बुधवारका लागि राखिएको समिति सचिव निर्मला बस्ती लामिछानेले जानकारी दिइन् ।

गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । सोही दिन समितिले असार २० र २१ गते प्रधानको संसदीय सुनुवाइ गर्ने सहितको कार्ययोजना तय गरेको थियो ।

तर, असार २१ गते हुने भनिएको सुनुवाइ रोकिएको थियो । रोकिएको सुनुवाइ आज हुन लागेको हो ।

सुनुवाइ समितिले उजुरी आह्वान गर्दा प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको थियो । सुनुवाइ समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेपछि प्रधानको सुनुवाइ रोकिएको थियो ।

प्रतिक्रिया