खेल ९ कार्तिक २०७९
राष्ट्रियस्तरको खेलकुदमा कञ्चनपुरले बढायो सुदूरपश्चिमको प्रतिष्ठा

रासस

नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि खेल गतिविधि भने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै सीमित छ । सात वटा पहाडी जिल्लामध्ये राष्ट्रिय खेलकुद परिषद्बाट केही जिल्लामा खेल प्रशिक्षकले प्रशिक्षण दिए पनि खेल गतिविधि भने बढाउने ध्यान दिइएको पाइँदैन । 


तराईका दुई जिल्लाबाट २०३५ को दशकयता सुदूरपश्चिमले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा सहभागिता जनाएको इतिहास छ । सुदूरपश्चिमबाट सन् १९८८ मा दक्षिण कोरियोको सिओलमा सम्पन्न ओलम्पिकमा कञ्चनपुरका बक्सर विष्णुबहादुर सिंह र डम्बरदत्त भट्टले सहभागिता जनाएका थिए । सो अवसरमा बक्सर सिंहले ओलम्पिकमा वाराग्वेका खेलाडीलाई पराजित गर्दैै एउटा ‘बाउट’ जितेको इतिहास पनि छ । 


विगतदेखि नै विभिन्न सुरक्षा निकायका विभागीय टोलीलाई सुदूरपश्चिमबाट खेलाडी उत्पादन गरी हस्तान्तरण गर्नुपर्ने बाध्यता पनि छ । प्रदेशमा खेल पूर्वाधार र गतिविधि बढाउन प्रदेशस्तरीय खेलकुद परिषद् गठन भए पनि खेलकुदको विकासमा भने उल्लेख्य प्रगति हुन नसकेको कराँतेका एक प्रशिक्षकको भनाइ छ ।


“यसपटक सबैभन्दा फितलो व्यवस्थापन सुदूरपश्चिमकै रह्यो”, उनले भने, “खेलाडी अलपत्र पर्ने देखि पहिलो पटक प्रदेश स्तरमा बन्द प्रशिक्षण नगरी खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराइयो ।” खेलाडी, अफिसियल र कर्मचारी गरी सात सयभन्दा बढीले यहाँबाट प्रतिनिधित्व गरेपनि व्यक्तिगत खेलमा सुदूरपश्चिमले दश स्वर्ण जित्दै राष्ट्रियस्तरमा सातौं स्थानमा आफूलाई सुरक्षित गरेको छ ।


“सुदूरपश्चिमले राष्ट्रियस्तरको खेलमा पहिलो पटक दश स्वर्ण जितेको छ”, बक्सिङ्ग ओलम्पियन डम्बरदत्त भट्टले भने, “जसमध्ये कञ्चनपुरले आठ स्वर्ण जितेर इतिहास रच्यो ।” उनले खेलाडीहरुको हौसला र वृद्धिविकासका लागि नियमित प्रशिक्षणसँगै सुविधामा पनि राज्यको ध्यान पुग्नुपर्ने भनाइ व्यक्त गरे ।  सुदूरपश्चिमले जितेको दश स्वर्णमा कञ्चनपुरका महिला कुस्ती खेलाडीले पाँच स्वर्णमाथि कब्जा जमाए । 


१४ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक बिजेता पहिलो महिला खेलाडी संगिता धामीले नवौ राष्ट्रिय खेलकुदमा ५५ किलो तौल समूहमा स्वर्ण जितिन् । त्यस्तै एक वर्षअघि मात्रै कुस्ती खेलमा भित्रिएकी कञ्चनपुरकी अर्की खेलाडी दमन्ती बोहराले डेब्युमै स्वर्ण पदक हात पारिन् । ५३ किलो तौल समूहमा मनिषा सिंहले स्वर्ण जित्दै राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक बिजयीको यात्रालाई निरन्तरता दिइन् । त्यसैगरी, ५९ किलो तौल समूहमा कोमल खत्रीले स्वर्ण जित्दा ७२ किलो तौल समूहमा हेमा भट्टले सुदूरपश्चिमलाई कुस्तीमा पाँचौ स्वर्ण दिलाइन् ।


कुस्तीमा राष्ट्रियस्तरमै अब्बल खेलाडी जन्माउनुको श्रेय प्रशिक्षक राजेन्द्र चन्दको ठूलो भूमिका छ । नवौं राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमले महिलातर्फ समान पाँच÷पाँच स्वर्ण जितेका थिए । नेपाली सेनाका लागि स्वर्ण जित्ने निर्मला जाग्री र मिरा औजी पनि प्रशिक्षक चन्दकै उत्पादन हुन् ।


कुस्तीबाट सुदूरपश्चिमकै गौरव बढ्ने गरी खेलाडीहरुले स्वर्ण पदक दिलाए पनि खेलाडीले अझै प्रशिक्षणका लागि हल समेत नपाएको अवस्था छ । कुस्ती खेलाडीहरु लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयको साघुँरो हलमा प्रशिक्षण गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले यहाँ कुस्ती हल निर्माण थालेको भएपनि अहिले बजेट अभावका कारण निर्माण अलपत्र छ ।


“कुस्ती सुदूरपश्चिमको अब्बल खेलाडी उत्पादनको थलो हो भनेर हामीले देशलाई चिनाइसक्यौं,” कुस्ती प्रशिक्षक चन्दले भने, “हामीलाई खेल्ने हल र खेल सामग्री मात्रै सहुलियतमा उपलब्ध गराउने हो भने हाम्रा खेलाडीहरु अन्र्तराष्ट्रियस्तरमा मुलुकको नाम राख्न सक्छन् ।”


उनले खेलाडीहरुको नियमित प्रशिक्षक र कडा परिश्रमले नै कञ्चनपुर कुस्ती खेलाडीको उर्वरभूमि बनेको बताए। 


कुस्ती खेलपछि सुदूरपश्चिमलाई स्वर्ण दिने अर्को खेल हो भारोत्तलन । भारोत्तलनमा पनि कञ्चनपुरकै खेलाडीले पहिलो पटक तीन स्वर्ण पदका जितेका छन् । भारोत्तलनका प्रशिक्षक जीवन गौतमले कञ्चनपुरका ६७ किलो तौल समूहमा हेमन्त पाल, ८९ तौल समूहमा विकास भट्ट र १०९ तौल समूहमा सुवास उपाध्यायले सुदूरपश्चिमलाई स्वर्ण दिलाएको बताए ।


“यसपटक प्रदेशमा छनौट भइसकेका खेलाडीले उचित भोजन र खेल पोशाकलगायतका कुनै सुविधा पाएनन्”, उनले भने, “जितेर आएका खेलाडीहरुलाई पनि न कुनै सम्मान मिल्यो र कसैले पुरस्कृत गरेर मनोबल बढाए ।”


राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमका लागि कराँते विधाबाट आनन्द कामीले स्वर्ण दिलाए । कामीले स्वर्ण र अन्य सात कराँते खेलाडीहरुले सुदूरपश्चिमलाई कास्य पदक दिलाएका छन् । साथै फेन्सिङ्ग खेलतर्फ जलेन्द्र शाहीले सुदूरपश्चिमलाई पहिलो स्वर्ण दिएका थिए । कैलाली फेन्सिङ्ग संघका अध्यक्ष समेत रहेका शाहीले २० जनाले खेलाडी सुदूरबाट सहभागिता जनाएको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार