समाचार २३ मंसिर २०७९
जबरालाई रोक्न सर्वोच्च गेटमा आज पनि बारको धर्ना

ओमकार टाइम्स

नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ। संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका छन् । उनले बुधबार पनि सर्वोच्च प्रवेश गर्ने तयारी गरेका थिए। तर, बार आन्दोलनमा उत्रिएको थियो।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक रूपमा पत्र लेखिएको पत्रका आधारमा जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिइने बताए। बारले शुक्रबार पनि सर्वोच्चमा जबराको प्रवेशलाई छेक्न धर्ना दिँदै छ। बिहानैदेखि सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष घिमिरेले बताएका छन्। जबरा सर्वोच्च जान प्रयास गरे भने पनि बारको धर्नालाई छलेर जान सक्ने अवस्था कठिन देखिन्छ।

महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश जबराको निलम्बनलाई निष्क्रिय पारिदिने संघीय संसद्का महासचिव भरतराज गौतमको पत्रले उत्पन्न तरंगले केहि दिनदेखि सर्वोच्च अदालत प्रभावित हुँदै आएको छ। यसैबीच सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको हो । सर्वोच्च अदालत भित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ छन्। सर्वोच्च अदालत अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका तीनवटा ट्रकहरु छन् । सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार