समाचार ६ मंसिर २०७९
वागमतीमा प्रदेशतर्फ एमालेले खोल्यो खाता, विजयी बने रामेश्वर श्रेष्ठ

ओमकार टाइम्स

वागमती प्रदेशसभातर्फ नेकपा एमालेले खाता खोलेको छ । ललितपुर क्षेत्र नम्बर २ (१) मा रामेश्वर श्रेष्ठ विजयी भएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई १४४८ मतले हराउँदै श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८२९८ मत पाउँदा केसीले ६८५० पाए भने पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५९७३ पाइन् ।

२०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका श्रेष्ठले यसपटक पनि मेयरमा दाबी गरेका थिए । उनलाई प्रदेशसभा उम्मेदवार बनाउन एमालेले हरिगोविन्द श्रेष्ठलाई अघि सारेको थियो ।

माधव नेपाल समूहमा रहेका श्रेष्ठ पार्टी फुटलाई साथ नदिएर एमालेमै बसेका थिए । उनी पार्टीमा १० बुँदे सहमति हुनुअघि नै एमालेविरोधी अभियानमा साथ नदिने भन्दै पार्टीको पक्षमा उभिएका थिए । संयोग के छ भने ललितपुर २ मा प्रतिनिधिसभामा पनि नेपाल समूह छाडेका महर्जन निर्वाचित भएका छन् ।

२०१८ साल असार १ गते ललितपुरको महालक्ष्मी- ५ टिकाथलीमा जन्मिएका श्रेष्ठ २०३५ सालमा अनेरास्ववियु संगठित भएर राजनीतिमा होमिएका थिए । एमबीए अध्ययन गरेका उनी २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भएका नेता हुन् ।

अनेरास्ववियु काठमाडौं, पाटन, भक्तपुर जिल्लाको सचिव र दुई कार्यकाल अध्यक्ष भएका उनी अनेरास्ववियु सातौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य भएका थिए । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटी सचिवालय सदस्य, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य हुँदै उनी अहिले नेकपा (एमाले) केन्द्रीय लेखा आयोग सदस्य छन् ।

२०४६ सालको आन्दोलनमा ९ महिना जेल जीवन बिताएका श्रेष्ठ मेयर हुनुअघि नेपाल औषधि व्यवसायी संघ वागमती अञ्चल कोषाध्यक्ष, सचिव र अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए ।

महेन्द्रग्राम मावि व्यवस्थापन समिति अध्यक्ष, नमूना मच्छिन्द्र मावि व्यवस्थापन समिति सदस्य लगायत दर्जनौं सामाजिक संस्थामा क्रियाशील छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार