काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने दाबी गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले काम गर्ने शैली परिवर्तन गरेर बजेट कार्यान्वयन गर्न सकिने बताए ।>
उनले भने, ‘विगतमा गर्न नसकेका कामलाई तुलना गरेर बजेटमा राम्रा विषय धेरै, तर उपलब्धि कम हुन्छ भन्ने शंका कामबाट निवारण गरिन्छ ।’ >
यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको उनको भनाइ छ । बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको अर्थमन्त्री महतले दाबी गरे।>
१७ खर्बको बजेटमा पुँजीगत प्रकृतिको बजेट ४ खर्ब ७१ अर्ब हाराहारी रहेको भन्दै पुँजीगत खर्च नघटाइएको उनले बताए।>
उनका अनुसार मौद्रिक नीति र वित्त नीतिको सामन्जस्यताबाट अब अर्थतन्त्र चलायमान गराउन सकिने छ ।>
आउँदा दिनमा राष्ट्र बैंकबाट पनि मौद्रिक नीतिमा सहजता आउने महतको तर्क छ । सीमा नाकामा हुने राजस्व चुहावटका ‘लुपहोल’ पनि बजेटमार्फत टालिएको उनको दाबी छ।>
‘राजस्व नीतिमा सुधार गरेका छौं । त्यसमा भएका लुपहोल हटाएका छौं, यसले आगामी दिनमा राजस्व वृद्धि हुने छ,’ महतले भने । >
नेपाली उद्योगलाई प्रवर्द्धन गर्न कम्तीमा १ तहमा करका दर कम गरिएको उनले बताए । सांसदलाई विकास निर्माणका लागि दिएको रकमलाई व्यक्तिलाई दिएजस्तो व्याख्या नगर्न महतले आग्रह गरे ।>
यस्तै अर्थमन्त्री महतले विद्युतीय सवारी साधनलाई निरुत्साहित नगरेको भन्दै झुटो प्रचार गरिएको बताए ।>
‘बजेटको धेय विद्युतीय सवारी साधनलाई निरुत्साहित गर्ने हुँदै होइन, यो झुटो हो । अब फेरि पनि पेट्रोलियम गाडीमै जाने सम्भावना छैन,’ उनी भन्छन्, ‘पेट्रोलियम पदार्थको त्यही स्तरका गाडीमा धेरै कर छ। त्यसको तुलनामा धेरै कम छ।’>
>>