सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ।
कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ।>
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ। यो तथ्याङ्कमा केही दिन अघिका कोरोना संक्रमितको संख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ।>
पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो। कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ।>
निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए।>
सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ।>
>
स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने बताइएको छ।>
कोरोनाको सङ्क्रमण भएकाले सङ्क्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लगाउन पाइन्छ।>
कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ३९ हजार चारसय ८८ को नमूना परीक्षण भइसकेको छ। यीमध्ये ६१ हजार आठ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।