समाचार ७ फाल्गुन २०७९
लगातार तीन जीतपछि पनि नेपाल ‘डेञ्जर जाेन’मै, यस्तो छ एकदिवसीय मान्यता जोगाउने गणित

ओमकार टाइम्स

विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी प्रतियोगितामा नेपालले लगातार तीन म्याच जितेको छ । तर, अझै पनि नेपालले विश्वकपको ग्लोबल छनोट खेल्न पाउने सम्भावना निकै कमजोर छ । एकदिवसीयको मान्यता कायम राख्न पनि अवस्था सहज छैन । नेपालले अब बाँकी ९ वटै म्याचलाई फाइनलसरह मानेर खेल्नुपर्ने हुन्छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टेस्ट मान्यता प्राप्त बाहेकका टोलीलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिने र एकदिवसीय विश्वकपमा छनोट गराउने संरचनाको प्रतियोगिता हो विश्वकप लिग २ । अहिलेको प्रावधानअनुसार आईसीसीले हरेक चार वर्षका लागि ७ वटा गैरटेस्ट टोलीलाई एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइरहेको छ । यस्तो मान्यता पाएका यी ७ टोलीले अहिले विश्वकप लिग-२ खेलिरहेका छन् ।

यो प्रतियोगितामा हरेक टोलीले ९ वटा त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्छन् । हरेक त्रिदेशीय शृंखलामा एउटा टोलीले बाँकी दुवै टोलीसँग २-२ खेल खेल्ने भएकाले विश्वकप लिग-२ मा प्रत्येक टोलीले कुन ३६ खेल खेल्न पाउँछन् ।

हालको संरचनाअनुसार ३६ खेलको समाप्तिमा शीर्ष ३ स्थानमा रहने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्छन् भने उनीहरुले अर्को चार वर्षका लागि एकदिवसीय मान्यता पनि पाउँछन् । तालिकाको अन्तिम चार स्थानमा रहने टोलीले विश्वकपको विश्वस्तरको छनोटका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ, जहाँ कुल ६ टोली रहन्छन् । प्लेअफबाट २ टोलीले विश्वस्तरको छनोटमा स्थान बनाउँछन् ।

विश्वकपको विश्वस्तरको छनोटमा ५ वटा टेस्ट टोली र विश्वकप लिग-२ बाट सोझै पुगेका ३ टोली तथा प्लेअफबाट पुगेका २ टोलीले प्रतिस्पर्धा गर्छन् । यी १० टोलीमध्ये २ टोलीले मात्र विश्वकपमा स्थान बनाउँछन् । यसर्थ नेपालको विश्वकप सपना अहिले निकै टाढा देखिन्छ । त्यसैले नेपालका लागि एकदिवसीय मान्यता जोगाउनु अहिलेको प्राथमिकता हो ।

नेपालले पहिलोपटक सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । आईसीसीले एकदिवसीय मान्यता प्राप्त गर्ने संरचनाबारे केही स्पष्ट पारेको छैन । विश्वकप लिग-२ का शीर्ष ५ टोलीलाई सोझै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिने कि विश्वकप लिग-२ का शीर्ष तीन टोली र प्लेअफका शीर्ष ४ टोलीलाई एकदिवसीय मान्यता दिने भन्ने विषयमा आईसीसी छलफलमै रहेको बताइन्छ ।

‘आईसीसीले अहिलेसम्म लिखित रुपमा विश्वकप लिग-२ का शीर्ष ५ ले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँछन् भनेर औपचारिक रुपमा बोलेको छैन । तर, उनीहरु यो विषयमा छलफलमा छन् । विश्वकप लिग-२ का शीर्ष ३ टोली र प्लेअफका शीर्ष ४ टोलीलाई उक्त मान्यता दिने विषयमा पनि उनीहरु छलफलमा रहेको बुझिएको छ’, नेपाल क्रिकेट संघ (क्यान)का एक पदाधिकारी भन्छन् ।

विश्वकप लिग-२ का शीर्ष ३ र प्लेअफका शीर्ष ४ टोलीलाई एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको अवस्थामा विश्वस्तरको छनोटमा पुगेका सबै एसोसियट्स टोलीसँग आगामी चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता रहनेछ । विश्वकप लिग-२ का शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने अवस्थामा बाँकी २ टोलीको टुंगो कसरी हुन्छ भन्नेबारे पनि केही बाहिर आएको छैन ।

नेपाल विश्वकप लिग-२ को अंक तालिकामा अहिले २७ खेलबाट २४ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । अब बाँकी रहेका ९ खेलमध्ये ६ खेल जितेमा नेपाल शीर्ष ५ भित्र रहने पक्का हुनेछ । तर, यूएईले बाँकी १० खेलमा कम्तिमा ७ खेल हारेमा नेपालले ५ खेल जिते पनि शीर्ष ५ भित्र स्थान बनाउनेछ ।

प्रतियोगितामा अब नेपालले यूएई र पपुआ न्युगिनी-पीएनजीसँग ४-४ र स्कटल्यान्डसँग एक खेल खेल्न बाँकी छ । नेपालले यूएई र पपुआ न्युगिनीसँग दुईवटा त्रिकोणात्मक सिरिज घरेलु मैदान र यूएईमा खेल्नेछ । तीमध्ये चार खेल नेपालमा र चार यूएईमा हुनेछन् । उच्च लयमा रहेको नेपाली टीम घरेलु मैदानमा आत्मविश्वासपूर्वक खेल्नेछ । तर, यूएईमा हुने चार खेल नेपालका लागि चुनौतीपूर्ण हुनेछन् ।

अहिले विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी नामिबिया र स्कटल्यान्ड सम्मिलित श्रृंखलामा सानदार प्रदर्शन गरिरहेको छ । यो श्रृंखलालगत्तै नेपाली टोली यूएई पुग्नेछ । यूएईमा त्रिदेशीय श्रृंखला खेलेपछि विश्वकप लिग-२ को अन्तिम श्रृंखला खेल्न नेपाली टोली स्वदेश फर्कनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार