समाचार २९ जेठ २०८१
प्रधानमन्त्रीको रूपमा नरेन्द्र मोदीले कति पाउँछन् तलब ?

एजेन्सी

भारतीय जनता पार्टीका नेता नरेन्द्र माेदि तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । आइतबार मोदीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका थिए । योसँगै उनी भारतको इतिहासमा जवाहरलाल नेहरूपछि लगातार तेस्रो पटक प्रधानमन्त्री हुने दोस्रो नेता बनेका छन् । 

भारतमा राष्ट्रपतिले मासिक ५ लाख भारु पारिश्रमिक पाउँछन् । उपराष्ट्रपतिको मासिक ४ लाख भारु छ । सन् २०१८ सम्म राष्ट्रपतिको तलब १ लाख ५० हजार भारु र उपराष्ट्रपतिको तलब १ लाख २५ हजार भारु मात्रै थियो । त्यसपछि तलब बढाइयो ।  

कति छ प्रधानमन्त्रीको तलब ?

प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी भारतको सबैभन्दा शक्तिशाली र महत्त्वपूर्ण पदमा छन् । देश चलाउने जिम्मेवारी उनकै काँधमा छ । यो महत्त्वपूर्ण जिम्मेवारी निभाएबापत उनले मासिक १ लाख ६६ हजार भारु तलब पाउँछन् । यो भनेको वार्षिक करिब २० लाख भारु हुन आउँछ । यो रकममा आधारभूत तलब ५० हजार भारु, तीन हजार भारु भत्ता खर्च हो भने ४५ हजार भारु संसदीय भत्ता र दैनिक भत्ता दुई हजार पनि समावेश छ ।

मोदीले आफ्नो चुनावी घोषणापत्रमा प्रतिज्ञापत्रमा आफ्नो व्यक्तिगत सम्पत्ति ३ करोड २ लाख भारु घोषणा गरेका छन् । प्रतिज्ञापत्र अनुसार उनको आम्दानीका दुईवटा स्रोत थिए, प्रधानमन्त्री हुँदाको तलब र ब्याज ।

तलब बाहेक प्रधानमन्त्रीले के–के पाउँछन् ?

प्रधानमन्त्रीका रूपमा मोदीले तलब बाहेक अन्य धेरै सुविधा पाउनेछन् । तीमध्ये सबैभन्दा प्रमुख हो उनलाई ७ लोक कल्याण मार्गमा दिइएको सरकारी निवास । यो निवासको लागि प्रधानमन्त्रीले कुनै भाडा तिर्नु पर्दैन । आधिकारिक भ्रमणका लागि प्रधानमन्त्रीले एयर इन्डियाको विशेष विमान पनि दिइएको छ ।

प्रधानमन्त्रीको हैसियतमा मोदी मर्सिडीज बेन्ज एस ६५० गार्डमा यात्रा गर्छन् । यो पूरै बुलेटप्रुफ गाडी हो । यो गाडीमा एके–४७ राइफलले पनि असर गर्दैन । प्रधानमन्त्रीबाट हटेको पाँच वर्षसम्म मोदीले निःशुल्क बास, बिजुली र पानी पाउनेछन् । उनीले सो अवधिभर एसपीजी सुरक्षा समेत पाउनेछन् ।

यी हुन् विश्वमा सबैभन्दा धेरै तलब खाने प्रधानमन्त्री र  राष्ट्रपति 

१. सिंगापुरका प्रधानमन्त्री संसारमा सबैभन्दा धेरै तलब पाउने नेता हुन् । सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले वार्षिक २२ लाख अमेरिकी डलर (२९ करोड ४६ लाख २४ हजार नेपाली रुपैयाँ) तलब पाउँछन् ।

२. हङकङका जोन ली का–चिउ विश्वमा सर्वाधिक कमाउने नेतामा दोस्रो स्थानमा छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले वर्षेनी ६ लाख ७२ हजार अमेरिकी डलर (८ करोड ९९ लाख ९४ हजार नेपाली रुपैयाँ) तलब थापिरहेका छन् ।  

३. यो सूचीमा स्विट्जरल्याण्ड तेस्रो स्थानमा छ । स्वीस प्रधानमन्त्रीले हरेक वर्ष ४ लाख ९५ हजार अमेरिकी डलर (६ करोड ६२ लाख ९० हजार नेपाली रुपैयाँ) तलब थाप्छन् ।

४. यो सूचीको चौथो स्थानमा अमेरिकी राष्ट्रपति छन् । जो बाइडेनले वर्षेनी तलबका रूपमा ४ लाख अमेरिकी डलर (५ करोड ३५ लाख ६८ हजार नेपाली रुपैयाँ) तलब लिइरहेका छन् । यसबाहेक उनीलाई बस्नका लागि ह्वाइट हाउस दिइएको छ भने उनलाई एयर फोर्स वन जस्ता सुविधा पनि दिइएको छ । एजेन्सीहरूको सहयोगमा




प्रतिक्रिया

सम्बन्धित समाचार