समाचार १७ मंसिर २०७९
शान्ति समाजद्वारा विभिन्न संस्थालाई सहयोग प्रदान

ओमकार टाइम्स

मानव अधिकार तथा शान्ति समाजले बाँके नेत्रहीन संघलाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका दिन नेपालगन्जमा सो सहयोग हस्तान्तरण गरिएको हो ।

यसै गरी सोही दिवसका दिन शान्ति समाज पाल्पा शाखाले पाल्पास्थित सिविआरमा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा र नवलपुर शाखाले गैँडाकोटस्थित अपाङ्ग जीवन विकास संस्थामा खाद्यान्न वितरण गरेको छ । यसै गरी शान्ति समाज रुपन्देही शाखाले देवीनगरस्थित नेपाल अपाङ्ग आश्रमका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । यस्तै शान्ति समाज दाङ शाखाले तुलसीपुरमा अपाङ्गमैत्री समाज निर्माण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शान्ति समाज केन्द्रीय कार्यसमितिको १५१ औँ बैठक मंसिर १६ गते नेपालगन्जमा सम्पन्न भएको छ । बैठकको सेरोफेरोमा नेपालगञ्जका ६ वटा शैक्षिक प्रतिष्ठानमा लागू औषध÷मदिरा दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको थियो भने मङ्सिर १६ गते नेपालगन्जमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर भन्दै प्रदर्शन गरिएको थियो ।

यसै गरी विश्व शान्तिको कामना गर्दै नेपालगञ्जको त्रिभुवन चोकमा दीप प्रज्वलन र नेपालगञ्जमै बहुभाषिक शान्ति काव्य प्रवाह समेत आयोजना गरिएको थियो । साथै मङ्सिर १७ गते बिहान नेपालगञ्जस्थित शमसान भूमिमा शान्ति समाजको आयोजनामा वृक्षारोपण गर्नुका साथै रानी तलाउमा साङ्केतिक सफाइ कार्यक्रम गरिएको थियो । कार्यक्रमहरूमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, पूर्व सभापतिहरू डा. गंगाधर अधिकारी र उत्तम पुडासैनी, वरिष्ठ उपसभापति सुशील बस्नेत, उपसभापतिद्वय कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, सचिवहरू मीना ढकाल, पुष्पा मल्ल र नम्रता खरेल, स्रष्टा विष्णुलाल कुमाल, बाँके शाखा सभापति प्रेम शर्मा, सचिव घनश्याम वैश्य लगायत दर्जनौँको सहभागिता थियो  ।




प्रतिक्रिया