दशैं किराँतीहरुको पनि पर्व हो : स्वामी प्रपन्नाचार्य

स्वामी प्रपन्नाचार्य

दशैंको सम्मुखमा विभिन्न देवी देवताको भक्ति र पितृ/पूर्वजहरूको श्रद्धा गरिने चलन छ। यसो किन गरिन्छ भन्दा, दुर्गतीलाई नाश गरी शक्तिको उपासनाका लागि नवदुर्गाको पूजा गरिन्छ। नौ दिनसम्म शक्ति सञ्चयको लागि नवरत्नको पूजा गरिन्छ।

सोह्र श्राद्ध आफ्नो पितृ–पूर्वजहरूप्रति गरिने श्रद्धा हो। हामी को हौं ? कहाँबाट आयौं ? भनेर आफ्नो पूर्वजहरूको संस्मरणका लागि श्राद्ध गरिन्छ। श्राद्ध ब्राम्हण क्षेत्रीले मात्र होइन, राई, लिम्बु लगायतका सबै जातिले गर्दछन्। क्षेत्री, बाहुनले गर्नेलाई मात्र श्राद्ध भनिँदैन। श्राद्ध वार्षिकी र दैनिकी गरी दुई किसिमका हुन्छन्।

आफ्नो पितृहरूको सम्झनामा वर्षको एकपल्ट गरिने सोह्र श्राद्धजस्तै श्राद्ध वार्षिकी हो। खानु, पिउनु, सुत्नु, हिड्नु, नुहाउनु आफ्नो दैनिक पलपल, क्षणक्षणको नित्यकर्म गर्नु दैनिकी श्राद्ध हो। श्राद्ध नगरी कोही पनि बाँच्न सक्दैन। मान्छे मरेपछि मात्र श्राद्धको अन्त्य हुन्छ।

दशैंमा विभिन्न रातो, पहेलो, हरियो, सेतो रङ्गको टिका अनि जमरा निधारमा लगाउछौं। यसरी विभिन्न रङ्गको टिका र जमरा किन लगाउँछौ भन्दा मान्छे (जीवात्मा) ले धर्ती (पृथ्वी) मा खेती लगाउँदाका ७ रूप हुन्छन्। धर्ती (पृथ्वी) माताले उपार्जन गरेको अन्नबाली, सागसब्जी खाएर र ओखतीमूलो गरेर मान्छे बाँचेका छौं। धर्तीमाता माथि नै फोहोर–मैला गर्छौं। ज्यादै कष्ट पनि दिन्छौं।

यसको बदलामा पृथ्वी मातालाई मानिसले के कुराले स्वागत र सम्मान गरौं त भनेर रातो, सेतो, पहेलो, हरियो गरी विभिन्न रङ्गको टिका र जमरा केही घण्टा, केही दिन भए पनि लगाएर पृथ्वी माताको स्वागत, सत्कार र श्रद्धा गर्न टिका र जमरा लगाइन्छ ।

टीका लगाएर मान्यजनकहाँ टिका लगाउन आउने–जाने गरिन्छ। यसको अर्थ सानोले ठूलालाई आदर, सत्कार गर्नु, मान सम्मान गर्नु र ठूलाले सानालाई आशिर्वाद दिनका लागि हो। आदर, सत्कार, मान सम्मान गर्नु र आशिर्वाद दिन जान्नु पर्दछ, बुझ्नु पर्दछ। दशैं आयो भनेर नयाँ लुगा लगाउने, वर्षभरि सफा नगरेको घर–आँगन, बाटो, पंधेरो सफा गर्ने गरिन्छ।

दशैं र जनजाति आदिवासी

केही जनजाति आदिवासीले दशैं क्षेत्री, ब्राम्हण जातिको हो, हामीहरूको होइन भन्दै दशैं वहिष्कारको अभियान छेडेका छन्। दशैं क्षेत्री, ब्राम्हणको मात्र हो भनेर इतिहासले भन्दैन। किराँती जाति शुद्ध सनातनी, वैद्धिक धर्मावलम्बी जाति हुन्। महाभारत पर्वमा ‘किराता यवनाञ्चैव ताः ताः क्षत्रियजातयः’ अर्थात् किरातीहरू क्षेत्री जाति हुन् भनेर लेखिएको छ।

जनजाति भन्ने शब्दै छैन। ‘जन’ भनेको मनुष्य हो। यसर्थ, ‘जनजाति’ भन्नाले ‘मनुष्य जाति’ मात्रै हो। राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, तामाङ जस्ता जाति जनजाति हुन् भने क्षेत्री, बाहुन, कामी, दमाई जातिलाई चाहिँ के भन्ने ? पशुजाति ? के उनीहरूलाई पशुजाति भन्दा मान्लान् ? हामी पशुजाति भनेर स्वीकार गर्लान् ?

त्यसकारण राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, तामाङ, कामी, दमाई, बाहुन, क्षेत्री सबै जाति जनजाति हुन्। जापान, जर्मन, चीन, इङ्ल्याण्ड, आयरल्याण्ड, अमेरिका, बर्मा, श्रीलंका जस्ता देशहरूमा पनि विभिन्न जातिहरू छन्। यहाँका राई, लिम्बु, गुरुङ, मगरजस्ता जातिलाई जनजाति भन्छौं भने त्यहाँका जातिहरूलाई के भन्ने त प्रश्न उठ्छ।

आदिवासी भन्नाले सुरुदेखि बस्दै आएको जाति बुझाउँछ। गौतम बुद्ध जन्मिएका २६०० वर्षभन्दा बढी भयो। उनी किराती क्षेत्री हुन्। उनीभन्दा पहिले ३ वटा बुद्ध थिए। उनीहरू सबै बाहुन थिए। तीमध्ये दुई जना त पहाडे बाहुन नै थिए। यसले यहाँ बसोबास गर्ने आदिवासी को रहेछ ?

हामी किराँतहरू आदिवासी हौं। तर किरातहरू आदिवासी हौं भन्दैमा क्षेत्री, बाहुन, दमाई, कामीहरू बाहिरी जाति हुन् भन्न म सक्दिनँ। इतिहासलाई कसैले रोक्न सक्दैन। घुस्सा हानेर छेक्न सक्दैन। डबका पिएर पनि छेक्न सक्दैन।

Facebook Comments

                     

अरुपनि