• देश

    निगमको दुबई उडान रोक्का प्रकरणमा ६ कर्मचारीलाई कारवाही सिफारिश

      ओमकार



    काठमाडौ । नेपाल वायुसेवा निगमको दुबई उडान आरए २३१ चार मिनेट ढिलो हुँदा रोकिएको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले ६ कर्मचारीलाई विभागीय कार्वाहीको सिफारिस गरेको छ।

    उड्न तयारी अवस्थामा रहेको विमान उडान अनुमति नदिने एटीसीको कर्मचारी तथा उचित समन्वय नगर्ने निगम कर्मचारीलाई कारवाही सिफारिश गरिएको हो।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले शुक्रबार सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको छानविन प्रतिवेदनमा उडान समयमा विमानस्थलको टावरका ड्युटीमा रहेका नागरिक उड्डयन प्राधिकरणका दुई जना जिम्मेवार कर्मचारीले प्रभावकारी समन्वय नगरेको भन्दै कारवाहीको सिफारिस गरिएको उल्लेख छ। उडान रद्दपछि विमानमा भएका यात्रुको उचित व्यवस्थापनबारे तत्काल उपयुक्त कदम नचाल्ने नेपाल वायुसेना निगमको विमानस्थलमा रहेका दुई जना कर्मचारीलाई समेत कारवाहीको सिफारिस गरिएको छ।

    विमानस्थलको ह्यान्गरबाट पार्किङ वे मा जहाज ल्याउने सन्दर्भमा समन्वयमा कमजोरी देखिएकाले निगमका थप दुई जना कर्मचारीहरुलाई कारबाही सिफारिस गरिएको छ। ती कर्मचारी को को हुन् नाम गोप्य राखिएको छ।

    त्यस्ते समितिले प्लाई दुवईको उडान सम्बन्धमा छानविन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ।

    छानबिन समितिले कारबाहीसहित थप १९ बुँदे सुझाव पनि दिएको छ। सुझावमा भविष्यमा यस्तै घटना नदोहोरियोस् भन्दै समितिले कार्य सम्पादनमा लिखित प्रक्रिया नभएको र आदेशको भरमा अपरेशन सञ्चालन गर्ने परिपाटी मुख्य जिम्मेवार देखिएको भन्दैँ लिखित रुपमा कार्य गर्नुपर्नेमा जोड दिएको छ।

    निगमको उडान रोकिएको विषयको अध्ययन समितिमा मन्त्रालयका सहसचिव लामिछानेबाहेक, निगमका निर्देशक राजेशप्रसाद श्रेष्ठ, वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी र सदस्य सचिवमा प्राधिकरणका उपनिर्देशक विक्रमराज गौतम थिए।


     

    प्रतिकृया दिनुहोस