• देश

    १४ बर्षे बालकले भेट्टाएको एक लाख रुपैया फिर्ता गरे

      ओमकार



    मलंगवा : सर्लाहीका १४ वर्षका आर्यन श्रेष्ठले भेट्टाएको १ लाख रुपैयाँ फिर्ता गरेका छन्। लालबन्दी नगरपालिकास्थित नवलपुर चोकमा शुक्रवार दिउँसो भेट्टाएको पैसा श्रेष्ठले शनिबार फिर्ता गरेका हुन्।

    आफ्नो पसल नजिकमै रहेको मामाघर जाँदै गरेको अवस्थामा श्रेष्ठले रोडमा खसेको पैसा भेट्टाएका थिए। भेट्टिएको पैसा इलाका प्रहरी कार्यालय नवलपुरको रोहबरमा पैसा हराउने सोही ठाउँका नथुनी साहलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ।

    जग्गा किन्न धनीलाई बयना दिन जाँदैगर्दा आफूले पैसा खसालेको साहले बताएका छन्। रोडक्रस गर्ने समयमा गोजीमा रहेको ३ लाख मध्ये १ लाख बाटोमा खसेको उनले बताए।
    ऋण काढेर ल्याएको पैसा हराउँदा ठूलो चिन्ता लागेको थियो। सानो सनपापडी व्यापारबाट अलि-अलि बचत गरेर केही ऋण लिएर जग्गा किन्न खोजेका थियौं।

    पैसाको हराउँदा निकै तनाबमा थियौं। तर, भेटाएपछि निकै खुशी लागेको छु साहले भने,’अहिलेको जमानामा यस्तो इमान्दारीता देख्दा आफुलाई अचम्म लागेको छ। फिर्ता गर्नु बाबुलाई धन्यवाद्।’  पैसा पाएपछि खुशीले सानो बाबु श्रेष्ठलाई ५ हजार उपहार स्वरुप प्रदान गरेको समेत साहले बताए।

    नवलपुर चौकमा ज्ञान ज्योती पुस्तक पसल चलाउँदै आएका बुवा अजय श्रेष्ठले पैसा हराउनेलाई कत्रो चिन्ता होला भनेर खोज तलाश गर्दा हराउने व्यक्तिलाई पैसा फिर्ता गरेको बताएका छन्। ‘अरुको पैसा लिनु भन्दा फिर्ता गर्नुमा आत्म सन्तुष्टि हुँदो रहेछ’,अजयले भने, ‘पैसा फिर्ता गर्न पाउँदा निकै खुशी लागेको छ ।’


     

    प्रतिकृया दिनुहोस