• देश

    नक्कली भूकम्पपीडितले लगेको सवा करोड फिर्ता

      ओमकार



    ललितपुर : सरकारले ललितपुरका भूकम्पपीडितलाई वितरण गरेको १ करोड २४ लाख रुपैयाँ फिर्ता लगेको छ। यो रकम एक सय ५८ भूकम्पपीडितबाट फिर्ता भएको हो। झुक्काएर दोहोरो सुविधा लिनेहरूबाट रकम फिर्ता भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वय नगरी काम गर्ने गैर सरकारी संस्था र सरकार दुबैबाट रकम लिनेकाबाट रकम फिर्ता गरिएको हो।

    जिल्ला आयोजना कार्यान्वयन ईकाईका अनुगमन तथा मूल्यांकन विज्ञ यमनाथ गिरीका अनुसार जिल्लाका ६ वटै पालिकाबाट रकम फिर्ता भएको हो। सरकारबाट पहिलो किस्ता लिए पनि सम्झौता गरी गैह्रसरकारी संख्याबाट दोस्रो किस्ता लिन सक्ने सुविधा सरकारले दिएको गिरीको भनाइ छ।

    ललितपुर महानगरपालिका वडा नम्बर ४ र १३ का भूकम्पपीडितको नाममा बैंकमा पठाइएको पैसा लिन नआउँदा फिर्ता भएको छ।

    उता गोदावरी नगरपालिकाको वडा ५, ६, ९, १०, ११ र १३ नम्बरमा धेरै नक्कली भूकम्पपीडित फेला परेका छन्। ती वडाका ८० जना नक्कली भूकम्पपीडितले दोहोरो सुविधा लिएको खुलेको गिरीले जानकारी दिए।

    गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नक्कली भूकम्पपीडितको विषयमा आफूलाई पर्याप्त जानकारी नभएको बताए। उनले भने, ‘छुटेका भूकम्पपीडितका लागि दश दिन भित्र पुनःसर्वेक्षण गर्ने निर्णय भएको छ।’

    कोन्जोस्योम गाउँपालिकाका २ शंखुका पाँच परिवारले दोहोरो रकम लिएका छन्। पाँचै परिवारका श्रीमान् र श्रीमती दुबैले रकम लिएको जिल्ला आयोजना कार्यन्वय ईकाइले जनाएको छ। उनीहरूका बारेमा वास्तविकता पत्ता लगाउन अध्ययन भइरहेको गिरीले जनाए।

    सरकारी प्रावधानमा एकै परिवारका दुई सदस्यले सहयोग लिन पाइँदैन। उनीहरू एकै परिवारमा छन् की छुट्टिएर बसेका छन् त्यस बारेमा स्थानीय सरकारले प्रमाणित गर्नुपर्ने हुन्छ। तर कोन्जोस्योम गाउँपालिकाका प्रमुख गोपीलाल सिंतानले यस विषयमा सुने पनि लिखित उजुरी नआएको बताए। ‘लिखित उजुरी आए कारबाही गर्छु’ उनले भने, ‘शंखुमा भूकम्पपीडितका नामममा मनपरी ढंगले रकम बाँडिएको छ।’

    १२ जना पीडितले लिएको पहिलो किस्ता आफैं फिर्ता गरेको छन्। दोस्रो किस्ता लिएर फिर्ता गर्ने ४० जना छन्। सरकारले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा डेढ लाख र तेस्रो किस्तामा ५० हजार रुपैयाँ दिने गर्दछ।

    सरकारले सम्झौता गरेपनि पैसा नलग्ने लाभग्राहीको पहिचान गर्न मुलुकभरका वडामा पत्राचार गरिसकेको छ। ललितपुरमा २८ हजार ४ सय ३५ भूकम्पपीडित छन्। तीमध्ये ७ हजार ८ सयले मात्र घर निर्माण गरेका छन्।


     

    प्रतिकृया दिनुहोस