• अर्थ

    आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा

      ओमकार टाईम्स

    अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताएका छन् ।

     

    नेपाल राष्ट्र बैंकले अयोजना गरेको तेस्रो अन्तराष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायीत्वलाई एकसाथ लैजानुपर्ने बताएका हुन् ।

     

    उनले नेपालको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अघि बढेको र चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार नै उच्च आर्थिक वृद्धिदर हुने बताए ।

     

    उनले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपले बढाउन वित्तीय संघीयताको कार्यान्वयनमा जोड दिए । मुलुकमा वित्तीय संघीयता लागु भइसकेको र सरकार त्यसमा सफल हुँदै गएपनि केही गैह्र बैंकिङ क्षेत्रका कारण समस्या भइरहेको संकेत गरे ।

     

    उनले पछिल्लो समय नेपालमा छायाँ बैंकिङको प्रवृति हावी भएको र वाणिज्य बैंकले गर्ने काम अन्य गैह्रबैंकिङ संस्थाहरुले गर्न थालेको बताए ।

    उनले फरक फरक नाममा बैंक, वित्तीय संस्था र गैह्रबैंकिङ संस्थाले एउटै काम गर्दा, सरकार, केन्द्रिय बैंक र जनता अलमलमा परेको बताए । उनले बैंकिङ गतिविधि मात्र वित्तीय समावेशिकरण नभएकाले बीमा कम्पनीहरुले जोखिम बहन नगरे बैंक तथा वित्तीय संस्थाहरु जोखिममा पर्नसक्ने बताए ।

     

    अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपमा अगाडि बढाउन चुनौति देखा परेको बताए । उनले सरकार व्यवसाय गर्न असफल भएपनि बजारलाई असफल हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

     

    उनले बजार असफल भएमा सरकार समेत असफल हुने भएकाले निजी क्षेत्रलाई साथमा लिएर उच्च आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको समेत बताए ।

     

    त्यसका लागि आन्तरिक उत्पादन बढाउन स्थानीय उत्पादनमा जोड दिइएको र आधारभुत सेवा र आधारभुत पूर्वाधार निर्माणका काम भइराखेकोले विकासको आधारहरु तयार हुँदै गएको उनले बताए ।

     

    शनिबारसम्म चल्ने सम्मेलनमा छलफल हुने विषयहरुबाट वित्तीय स्थायित्वका लागि नीति निर्माणमा सहयोग पुग्ने विश्वास समेत अर्थमन्त्री खतिवडाले गरे ।

    प्रतिकृया दिनुहोस