• राजनीति

    नेकपा फुट्छ भनेर सपना नदेख्न झलनाथ खनालको चेतावनी

      ओमकार टाईम्स

    काठमाडाैं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लामो त्याग र बलिदानबाट एकीकृत भएको नेकपामा फुटको कुनै सम्भावना नरहेको बताएका छन् ।

     

    प्रेस संगठन नेपाल नुवाकोटले शनिवार विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले नेकपा फुट्छ भनेर सपना देख्नेहरूको दिवास्वप्न भएको बताए ।

     

    ‘लामो समय टुटफुट, विभाजन र अन्तरसंघर्षको योगलाई पार गरेर ७० वर्षको अनुभव प्राप्त गरेको छ,’ खनालले भने, ‘यो पार्टी दुई वर्ष केही अन्योलतामा बिताएको छ तर अहिले एक ढिक्का भएको छ ।’

     

    खनालले पार्टी एकीकरण र सरकार संचालनको पछिल्लो दुई वर्ष समीक्षा गर्नलायक भएपनि अबका दिन सरकार र पार्टीका लागि सुनौलो अवसर भएको बताए । ‘वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा हामी परिपक्क भएका छौं,’ उनले भने, ‘सबै प्रकारले एकताबद्ध भएको छ, यसमा कुनै शंका नै छैन ।’

     

    एमसीसीका सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै नेता खनालले एमसीसीका बारेमा राम्रो र नराम्रो दुई किसिमले चर्चा चलेसँगै आफ्नो नेतृत्वमा बनेको कार्यदलले संशोधनसहित पास गर्नका लागि प्रतिवेदन बुझाएको बताए ।

    प्रतिकृया दिनुहोस