• देश

    नेपाल कोरोनाको अति उच्च जोखिममा : सरकारले गठन गर्यो कार्यान्वयन समिति

      ओमकार टाईम्स

    काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोनाभाइरसको अति उच्च जोखिमको सूचीमा राखेपछि सरकारले उच्च स्तरीय समन्वय समिति तथा मुख्य सचिवको कार्यान्वयन समिति गठन गरेको छ ।

     

    सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलेको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति तथा मुख्य सचिवको कार्यानवय समिति गठन गरेको हो ।

     

    सो समितिमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, अर्थ मन्त्री डा. युवराज खतिवडा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत वाणिज्य, कृषिमन्त्री पनि रहेका छन् ।

     

    समितिले नेपालमा विभिन्न मुलुकबाट आउने हवाइ यात्रु लगायतका देश बाहिर जाने यात्रुको आवतजावतका गतिविधिलाई नजिकबाट हेर्नुका साथै कोरनाभाइरस फैलन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी समाधानका उपायबारे सुझाव दिने पर्यटनमन्त्री भट्टराइर्ले बताएका छन् ।

     

    उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमण हुन नदिन उच्च सर्तकता अपनाउन तथा कुनै कमी कमजोरी हुन नदिन निर्देशन समेत दिएको मन्त्री भट्टराइले बताए ।

     

    कोरोनाको प्रकोप रोकथामका लागि आवश्यक पूर्व तयारी गर्न र विमान स्थलमा आउने यात्रुको एक–एक गरी जाँच्ने व्यवस्था मिलाउन तथा स्वास्थ्य जाँचमा कडाइ गर्न तथा औषधिको पर्याप्त मात्रमा सञ्चय गर्न निर्देशन दिए ।

     

    डब्लूएचओको मुख्यालयमा गत बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोनाभाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।

     

    डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोनाभाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

     

    यो भन्दाअघि डब्लूएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । हालसम्म नेपालमा एक जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

     

    स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमणको दृष्टिले उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सूचीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस