• देश

    कोरोनाभाइरसले लथालिङ्ग नेपाल भ्रमण वर्ष २०२०

      ओमकार टाईम्स

    काठमाडौं : सरकारले राष्ट्रिय महोत्सवकै रुपमा सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौंको दशरथ रङ्गशालामा विशेष समारोहसहित नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गर्यो ।

     

    संघीय राजधानीको दशरथ रङ्गशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गरेका थिए । यसैगरी जनवरी ७ तारिखमा विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिएको थियो भने दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिएको थियो ।

     

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराइले भ्रमण वर्ष घोषणासँगै सन् २०२०–२०३० लाई पर्यटक दशकका रूपमा मनाउने योजना थियो । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य हो । तर, सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा खारेज गर्ने तयारी गरेको छ ।

     

    चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण युरोप हुँदै विश्वव्यापी रुपमा फैलिन थालेपछि सरकारले नेपाल भ्रमण वर्षको प्रवर्द्धनात्मक प्रचार स्थगितसहित औपचारिक रुपमा खारेज गर्ने निर्णय गरेको हो ।

     

    नेपाल आउने पर्यटकको मुख्य केन्द्र मानिएको चीनसहित विश्वका ५६ देशमा फैलिएको कोरोनाभाइरससँगै जुधिरहेका बेला नेपाल भ्रमण वर्ष २ महिना बित्न नपाउँदै खारेजी गर्ने मनस्थितिमा सरकार पुगेको हो ।

     

    यता शनिबार आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले केही समयका लागि विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताएका छन् ।

     

    पर्यटनमन्त्री भट्टराईले भने–‘जब परिस्थिति अनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम गर्नेछौं ।’

     

    कोरोनाभाइरस विश्वव्यापी रुपमा फैलिन थालेपछि केही सातायता विश्वभर हवाई यात्रा प्रभावित भएको छ । आज  नेपालमा हुने भनिएको एक अन्तर्राष्ट्रिय आथिएक सम्मृलनमा १२ देशका प्रतिनिधि सहभागी हुने बताएपनि छिमेकी मुलुक भारतले मात्र उपस्थिति जनायो । निकट भविष्यमा हुने भनिएको सगरमाथा सम्वाद कार्यक्रम पनि गर्ने सरकारको तयारी देखिएको छ ।

     

    कोरोनाभाइरसका कारण दक्षिण कोरियामा सोलमा रेल र बस सेवा भाइरसविहीन बनाइएको छ भने अधिकारीहरुले सबैभन्दा उच्चस्तरको सुरक्षा जोखिम घोषणा गरेका छन् । यसैगरी पाकिस्तानले इरानसँगको सीमा बन्द गरेको छ ।

     

    यता इरानी सरकारी टिभीले मास्कहरु उत्पालन भइरहेको भिडियो सार्वजनिक गरेको छ । इरानले कुनै बस्ती र सहरलाई क्वारन्टीन गर्ने योजना बनाएको छैन । कोरोनाभाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २ सय १० जनाले ज्यान गुमाइसकेका छन् ।

     

    यसैगरी युरोपमा कोरोनाभाइसरबाट सबैभन्दा बढी प्रभावित देश इटली हो । यो भाइरसका कारण फुटबल खेलहरु रद्द भएका छन् । त्यस्तै चीनको वुहानमा अधिकारीहरु अझै सो भाइरसलाई फैलनबाट रोक्ने प्रयास गरिरहेका छन् । सो सहर अझै बन्द अस्वथामा रहेको छ ।

     

    यसैगरी कोरोनाभाइरसका कारण शनिबारसम्म विश्वभर २ हजार ९ सय ३३ जनाको मृत्यु भएको छ । ८५ हजार ६ सय ८६ जना संक्रमिण भएका छन् भने ३९ हजार ६ सय ८० जना उपचारपछि स्वास्थ्य लाभ गरिरहेका छन् ।

     

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ ।

     

    विश्वभर कूल ८३ हजार ८ सय ५३ व्यक्तिमा यस भाइरसको सङ्क्रमण भएको बताएको छ । शुरुमा चीनमा मात्र सिमीत रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चिन्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ

     

    कोभिड–१९ को सङ्क्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र हुन थालेपछि यो सङ्क्रमण फैलिएका देशबाट आफ्ना देशमा प्रवेश गर्ने तथा फर्किने नागरिकलाई विश्वका सबै देशले विमानास्थलहरुमा नै व्यापक मात्रामा निगरानी बढाएका छन् । यसबाट विश्वको बाह्य तथा आन्तरिक पर्यटकीय गतिविधिहरु प्रभावित हुने मात्र होइन कि खासमा पर्यटन कार्यक्रमहरुलाई नै उनीहरुले रोकेका छन् ।

     

    चीनबाट नेपालमा सबैभन्दा धेरै पर्यटन आउने देश हो । तर, चीनका धेरै शहरहरुमा मानिसहरु बाहिर निस्केका छैन । चीनलगायत दक्षिण कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, इटाली र अमेरिकाबाट पनि नेपालमा धुम्न पर्यटन आउने छन् ।

     

    डब्लुएचओले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को सङ्क्रमणको चिन्ताजनक अवस्था देखिएको पुष्टि गरेको छ । ती बाहेकका पनि विश्वका अरु कैयौँ देशमा यो भाइरस देखिएको छ । ती देशलाई सतर्क रहन उसले चेतावनी पनि दिएको छ । ती देशबाट स्वदेश भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा आवश्यक तयारीहरु गर्न र स्वास्थ्यका कार्यक्रमहरुमा कोरोना रोकथामका कार्यक्रमहरु पनि राख्न उक्त संगठनले सम्बद्ध देशका अधिकारीहरुलाई आग्रह पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस