• सम–सामयिक

    आठ देशमा श्रम स्वीकृति रोकियो, अन्यमा पनि रोक्न सकिने

      ओमकार टाईम्स

    वैदेशिक रोजगार विभागले कोरोना प्रभावित देशहरूमा श्रम स्वीकृति दिन बन्द गरेको छ । विभागकाअनुसार आठ भन्दा बढी देशहरूमा श्रम स्वीकृति बन्द गराइएको हो ।

     

    सर्वोच्च अदालतले सोमबार संयुक्त अरब इमिरेट्स, कुवेत, जापान, दक्षिण कोरिया, इटली, चीनमा जान रोक लगाउन आदेश दिएसँगै ती देश जाने श्रमिकलाई श्रम स्वीकृति दिन स्वतः रोकिएको विभागले जनाएको छ ।

     

    ‘सर्वोच्चले नपठाउनेको देशमा मंगलबारबाट नै श्रम स्वीकृत रोकिन्छ, जीटुजी भएका देशमा त हामीले हिजो नै रोकिसकेका थियौ’ वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले  भने ‘अन्य देशमा पनि के गर्ने भन्ने विषयमा हामीले आज छलफल गरेर निर्णय लिन्छौँ ‘

     

    दाहालले तत्कालको लागि पूर्ण श्रम स्वीकृति रोक्न सक्ने संकेत गरेका छन् । ‘हामीले पठाएर मात्रै भएन उताबाट फिर्ता आउने भनेफछि यस विषयमा हामीले उपयुक्त निर्णय लिनुपर्छ,’ दाहालले भने ।

     

    वैदेशिक रोजगारीका लागि यूएई हुँदै बहराइन जान लागेका नेपालीलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भन्दै स्वदेश फिर्ता गराएको थियो ।

     

    विश्‍व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेसँगै सरकारले सतर्कता बढाएको छ । यसबीचमा सरकार भ्रमण वर्ष २०२० लाई स्थगित गरेको छ भने सगरमाथा संवाद नगर्ने निर्णय लिएको छ ।

     

    विभिन्न देशहरूमा सिधा उडान नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सरकारले विमानस्थलमा सतर्कता बढाएको एयरपोर्ट कन्ट्रोलले जनाएको छ

    प्रतिकृया दिनुहोस