• राजनीति

    झापाका पुराना कम्युनिस्ट नेता पूर्व सभासद् घिमिरेको दुर्घटनामा निधन

      ओमकार टाईम्स

    तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिस्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् ।

     

    इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मंगलवार बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा ३ किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

     

    झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले ८ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका पारिवारिक स्रोतले जनाएको छ । ३ दिनअघि दाह्री काट्न घर नजिकैको ‘चारआली बजार जान्छु’ भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए ।

     

    उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । नेपालबाट भएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेका प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । विक्रम संवत् २०२३ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नम्बर १ मा तत्कालीन नेकपा माओवादीका तर्फबाट सभासद् निर्वाचित भएका थिए ।

     

    उनले झापा विद्रोहपछि पक्राउ परी ९ वर्ष कारागारको सजाय भोगेका थिए । नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए । भारतीय प्रहरीले उनी एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । मृतक घिमिरेका पत्नी, १ छोरा र २ छोरी छन् । रासस

    प्रतिकृया दिनुहोस