• सम–सामयिक

    बलात्कार मुद्दा मिलाउन नेविसंघ नेताले ७ लाख २५ हजार ठगी गरेको आरोप

      ओमकार टाईम्स


    विराटनगर । अदालतमा विचाराधीन बलात्कार मुद्दा मिलाउछु भन्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेताले ठगी गरेको आरोप लागेको छ ।

     

    रंगेली नगरपालिका– ३ घर भएका नेपाल विद्यार्थी संघ मोरङका निवर्तमान सभापति गोपाल सेढाईमाथि ७ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको हो ।

     

    आरोपपछि सेढाई फरार छन् । उनका सहयोगी श्रीमन मरण्डीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले सेढाईंविरुद्ध ठगीको उजुरी परेको र उनको खोजी भइरहेको बताए ।

     

    स्नातकोत्तर क्याम्पस विराटनगरको पूर्व स्ववियू सभापति समेत रहेका सेढाईले जवरजस्ती करणी मुद्दा मिलाउन रकम लिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको हो ।

     

    धनपालथान गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि १५ जेठ २०७५ राति बलात्कार गरेको आरोपमा रंगेली ३ का सोरेन भन्ने सुरेन्द्र मरन्डी, सोही ठाउँका तल्लु मर्मु, प्रगान सतार, सोमलाल हेमरम, सुनिल मरन्डी र सुरेन्द्र टुडुविरुद्ध मुद्दा दायर भएको थियो ।

     

    विवाहमा जन्ती आएकी किशोरीलाई करणी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मोरङले जबरजस्ती करणी प्रयास मुद्दामा जनही तीन वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको छ । अदालतको फैसलापछि सेढाई र मरण्डीबाट ठगिएको दाबी गर्दै थुनामा रहेकाहरुको आफन्तले किटानी जाहेरी दिएका हुन् ।

     

    रंगेली नगरपालिका – ३ मा कृषि फर्म सञ्चालन गरिरहेका सेढाईले सामूहिक बलात्कार मुद्दाका आरोपीलाई छुटाउन भन्दै एक लाख ५० हजारका दरले पैसा मागेका थिए ।

     

    छोरा छुट्ने आशामा सोम मरण्डी र बाबुलाल हस्दाले जनही १ लाख ४० हजार, बिक्रम टुडुले १ लाख ६० हजार, साइला मरण्डीले १ लाख ६० हजार,सोम मुर्मूले एक लाख २५ हजार गरी जम्मा ७ लाख २५ हजार रुपैयाँ बुझाएका थिए ।

     

    पैसा बुझाउने अभिभावकका अनुसार सेढाईंले पैसा दिएको विषय कसैलाई नसुनाउन भनेका थिए । तर २७ पुसको फैसला र १० माघमा आएको पूर्ण पाठले अभियुक्तलाई ३ वर्ष ६ महिना कैद हुने ठहर गरेको थियो ।

     

    बिचौलियाको काम गरेका सेढाईले जरवजस्ती करणी मुद्दामा २० वर्ष सजाय हुनेलाई आफूले पहल गरी साढे तीन वर्ष बनाएको बताएका अभियुक्तका आफन्तले बताएका छन् ।

    करणी मुद्दामा आफन्त पक्राउ परेपछि १० प्रतिशत व्याजमा ऋण खोजेर बुझाएकाहरुले ठगिएको दाबी गरेका छन् ।

     

    जिल्ला अदालत मोरङले ठगी मुद्दामा पक्राउ परेका श्रीमनलाई अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । सेढाईलाई पक्राउका लागि पूर्जी जारी गरेको छ ।

    प्रतिकृया दिनुहोस