• देश

    कोरोना रोकथाम उच्चस्तरीय समितिको कार्ययोजना सार्वजनिक गर्न गगन थापाको माग

      ओमकार टाईम्स

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ ।

     

    शुक्रबारको बैठकमा काँग्रेस सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेश गर्दै सांसद थापाले कोरोना भाइरस फैलन नदिन र इरानको जस्तो अवस्था आउन नदिन सवै एकै ठाउमा आउनु जरुरी रहेको बताए ।

     

    उनले कोरोना संक्रमण नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय समिति अन्र्तगत विशेष समिति बनाएर कार्ययोजनाहरु सार्वजनिक गर्न माग गरे ।

     

    विदेशबाट आउने मानिसका बारेमा के गर्ने भन्ने निर्णय गर्न जरुरी रहेको भन्दै उनले नेपाल बाहिरबाट आउने मानिसहरु कुन कुन देशबाट आएकालाई रोक्ने हो त्यो खालको कार्ययोजना बनाउन जरुरी रहेको बताए ।

     

    उनले सरकारले कहाँ–कहाँ जाने कहाँ नजाने भन्ने स्पस्ट हुन जरुरी भएको पनि बताए । नेपाल सरकारले सभा सम्मेलन नगर्न भनेको अवस्थामा सेल्फ ट्रयाकिङको व्यवस्था हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

     

    ट्राभल चेक रेकर्ड राख्नुपर्ने र नागरिकलाई सुचित गर्न एउटा प्लेटफर्म हुनुपर्ने भन्दै त्यसैबाट सुचनाहरु प्रवाह गरे मानिसहरु त्रसित हुनबाट जोगिने बताए । त्यस्तै उनले सप्लाई चेनमार्फत कालावजारी अनुगमनको व्यवस्था गर्न माग गरे । उनले तत्काल गर्नसक्ने कामहरु समेत सरकारले गर्न नसकेको भन्दै नागरिकहरुलाई सेल्फ आइसोलेसन वेडमा जानसक्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

     

    त्यसक्रममा सांसद थापाले कोरोनाविरुद्ध सबैजना एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुपरेको बताए ।

     

    विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरुको जवाफ पनि सरकारले सदनलाई दिनुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

     

    हामीले अहिले सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन् । प्रस्तावमाथि छलफल जारी छ ।

    प्रतिकृया दिनुहोस