• विदेश

    एस बैंकका संस्थापक राना कपूर पक्राउ

      ओमकार टाईम्स

    भारतको समस्याग्रस्त घोषणा गरिएको ‘एस बैंक’ का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ ।

     

     

    भारतमा निजीक्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

     

    भारतको केन्द्रीय बैंकले आकस्मिक रूपमा शुक्रबार मध्यराति सो बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारूभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । पछिल्ला दिनहरूमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि सङ्कट आएको थियो ।

     

    भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरूले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका थिए

     

    जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेपछि पक्राउ गरिएको हो । यस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टि गरेको छ ।

     

    अधिकारीहरूले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेको थियो ।

    भारतीय रिजर्भ बैंकले यस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रूपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकहरूमा निराशा छाएको छ ।

     

    मानिसहरू यस बैंकका एटीएम र शाखाहरूमा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए ।

     

    रिजर्भ बैंकको उद्धार योजना बमोजिम भारतीय स्टेट बैंक (एसबिआई)ले समस्याग्रस्त ‘एस बैंक’ को ४९ प्रतिशत सेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रूपैयाँ लगानी गर्ने जनाएको छ ।

     

    एसबीआईका अध्यक्ष रजनिश कुमारले यस बैंकमा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरूचि देखाइसकेको पनि जानकारी दिए ।

     

    एस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पुँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाइ छ । यस बैंकका १ हजारभन्दा बढी शाखा र १ हजार ८ सय भन्दा बढी एटीएम छन् ।

    प्रतिकृया दिनुहोस