• राजनीति

    केटी काण्डमा तानिएका नेकपाका ६ भिआइपी : सभामुख देखि मन्त्रीसम्म

      ओमकार टाईम्स

    काठमाडौं : सत्तासिन दल (नेकपा) का उच्च तहका नेताहरू धमाधम केटीकाण्डमा तानिन थालेका छन्। सभामुख, संघीय सरकारको मन्त्री, मुख्यमन्त्री, प्रदेश मन्त्री, प्रदेश सांसद, पूर्वमन्त्रीसमेत केटीकाण्डमा तानिएका छन्। जसका कारण उनीहरु बदनाम मात्रै भएका छैनन, पद समेत गुमाएका छन्।

     

    यो सूचीको पहिलो नम्बरमा पर्छन, पूर्वसभामुख कृष्णबहादुर महरा। संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबर्जस्तीकरणी गरेको आरोपमा उनले आफ्नो सभामुख पद मात्र गुमाएनन्, तीन महिनाभन्दा बढी समय जेलमै बिताउनु परेको थियो । सो मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिइसकेको छ ।

     

    प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यस्तै झमेला खेपिरहेका छन्। उनको नाम पूर्वअखिल कार्यकर्ता बालिका खड्कासँग जोडिएको छ। उनले मुख्यमन्त्री राईमाथि जबर्जस्तीकरणीको आरोप मात्र लगाएकी छैनन्, उनले आफूमाथि अन्याय भएको भन्दै अंश भराई पाउँ भनी हालै अदालतमा मुद्दासमेत हालेकी छन् । तर, राईले भने आफ्नो राजनीति सिध्याउन षड्यन्त्र भएको दाबी गर्दै आएका छन् ।

     

    टेकबहादुर बस्नेत पूर्वसामान्य प्रशासनमन्त्री हुन् । उनी सल्यानबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनीमाथि सल्यानकै एक महिलाले गम्भीर आरोपसहित खुलापत्र पठाएकी छिन् । पत्रमार्फत उनले सांसद बस्नेतलाई रकम सापट दिएको, तर फिर्ता माग्दा यौन हिंसा गरेको आरोप लगाएकी छन् ।

     

    केटीकाण्डमै प्रदेश नम्बर ३ को भौतिक योजना तथा निर्माण मन्त्रीबाट केशव स्थापितले हात धुनु परेको थियो । उनीमाथि काठमाडौं महानगरपालिकाको मेयर हुँदा पत्रकार तथा महानगरकी तत्कालीन अधिकृत रश्मीला प्रजापतिले सामाजिक सञ्जालमार्फत आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी हुन् । महिलासँग नाम जोडिएर आएपछि उनलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेका थिए ।

     

    यस्तै, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पनि केटीकाण्डकै कारण पद गुमाएका थिए । उनलाई धनगढीकी एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । सोडारीमाथि भ्रष्टाचार गरेको आरोप पनि थियो ।

     

    यसैगरी, सुदूरपश्चिम प्रदेशका सांसद अक्कलबहादुर रावललाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । सांसद रावलले विवाहित महिलामाथि बलात्कार गर्न खोजेको आरोप लागेको हो । पार्टी एकताभन्दा पहिले तत्कालीन माओवादीको प्रमुख सचेतक रहेका रावल एकतापछि नेकपा संसदीय दलको सचेतक भएका हुन् ।

     

    यस्तै, नेकपा कैलाली अध्यक्ष रतन थापा पनि केटीकाण्डमा मुछिएका छन् । उनको त एक महिलासँग गरेको अश्लील टेप नै सार्वजनिक भएको थियो । मिडिया डबली

    प्रतिकृया दिनुहोस