• सम–सामयिक

    पत्रकारमाथि कुटपिट गर्ने साह छुटेलगत्तै अर्को विवादमा

      ओमकार टाईम्स

    पत्रकार कुटपिट प्रकरणमा पक्राउ परी रिहा भएका होटल व्यवसायी धर्मेन्द्र साह फेरी अर्को विवादमा परेका छन् ।

     

    गुठीको जग्गा भाडामा लिएर पसल सञ्चालन गर्दै आएका एक व्यापारीमाथि जनकपुरस्थित होटेल व्यवसायी धमेन्द्र साहले हातपात गरेका छन् ।

     

    जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहका निकटस्थ व्यक्तिका रुपमा रहेका साहले केही समयदेखि उत्तेजक गतिविधि गर्दै आएका छन् ।

     

    साहले औषधि व्यवसायी संघ धनुषाका पूर्वमहासचिव समेत रहेका नविन मेडिकल हलका सञ्चालक प्रमोद अग्रवाल ‘पप्पु’ माथि दुव्र्यवहार गर्दै हातपात गरेका हुन् ।

     

    साहले राम यूवा कमिटीको कार्यालयमै दजनौं व्यक्तिहरू उपस्थित रहेको समयमा अग्रवालमाथि हातपात गरेका हुन् ।

     

    जनकपुर उपमहानगरपालिका–४ स्थित राम मन्दिरको पछाडि अग्रवालले २०३४ सालदेखि गुठी संस्थानसँग भाडामा जग्गा लिएर औषधि पसल सञ्चालन गर्दै आइरहेका छन् ।

     

    त्यसै पसलको जग्गामध्ये पूर्वअध्यक्ष साहले आफूलाई धाकधम्की दिएर जबरजस्ती १० फिट जग्गा माग्दै आएको र पछिल्लो समय आफूले गुठीको जग्गा कुनै व्यक्तिलाई दिन तयार नभएपछि सार्वजनिक रुपमै आफूमाथि गर्दै हातपात समेत गरेको बताए ।

     

    उनले भने, ‘साहले गुठी संस्थानको जग्गा जबरजस्ती विभिन्न धाकधम्की देखाएर कब्जा गर्न खोजेका थिए । साहलाई मैले जग्गा दिन नमानेपछि ज्यान मार्ने धम्की समेत दिए ।’

     

    सार्वजनिक रुपमा आफूमाथि उनले हातपात समेत गरेको अग्रवालले जानकारी दिए ।

     

    अग्रवालमाथि हातपात गरिएको बेला राम यूवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुर, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह, पूर्वअध्यक्ष निर्मल चौधरी, कलबार कुट्टीका अध्यक्ष शम्भु साह, बिना कम्प्यूटरका सञ्चालक सन्दिप अग्रवाललगायत अन्य दर्जनौ व्यक्तिहरू उपस्थित रहेको बताइएको छ ।

     

    घटनास्थलमा उपस्थितमध्येका एक जना प्रत्यक्षदर्शीले पनि घटनामा धर्मेन्द्र साह दोषी रहेको र उनले औषधि व्यवसायी अग्रवालसँग दुव्र्यवहार गर्दै दबंग शैलीमा उनीमाथि हातपात गरेको सो प्रत्यक्षदर्शीले बताए ।

     

    होटेल व्यवसायी साह यसअघि गत पुस २२ गते समाचार संकलनको क्रममा जनकपुरधाम उपमहानगरपालिकामा सञ्चारकर्मीमाथि गरिएको दुर्व्यवहार एवं कुटपिट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परि दुई दिनसम्म जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा बसेका थिए ।

     

    जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको घटनाबारे प्रतिक्रिया लिन पुगेका पत्रकारहरूमाथि मेयरको कार्यकक्षमा भएको दुर्व्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले साहलाइ पक्राउ गरेको थियो ।

    प्रतिकृया दिनुहोस