• सम–सामयिक

    दुई युवक बन्दुकसहित प्रहरीको नियन्त्रणमा

      ओमकार टाईम्स

    रौतहट : होली पर्वको पूर्व सन्ध्यामा लुटपाटको योजना बनाइरहेका दुई जना युवालाई हतियारसहित रौतहट प्रहरीले हिजो (सोमवार) राति नियन्त्रणमा लिएको छ ।

     

    रौतहटको गढीमाई नगरपालिका वडा नम्वर ६ धरमपुरस्थित बागमती नदीमा रहेको पुल वारी बाँधमा बसेर होली पर्व मनाउन ढिलो घर फर्किने बटुवाहरुलाई लुटपाट गर्ने योजना बनाइरहेका सर्लाहीका दुई जना युवकलाई कटुवा बन्दुक र ३ राउण्ड गोलीसहित राति ८ बजेको समयमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।

     

    इलाका प्रहरी कार्यालय गरुडामा आज (मंगलवार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डिएसपी ज्ञानकुमार महतोले पर्वको समयमा नियमित गस्तीमा रहेका प्रहरीलाई हेरेर भाग्न लाग्दा सर्लाही धनकौल गाउँपालिका ६ बस्ने २६ वर्षीय राजेश महरा, सोही वडाका २१ वर्षीय जयनारायण रामर्ला नियन्त्रणमा लिएको बताए ।

     

    दुवै युवक चढेका विआर ३०यु ८३८२ नम्वरको मोटरसाइकल, उनीहरुको साथबाट मोवाइल २ थान, नलकटुवा बन्दुक १ थान र ३ थान गोली बरामद भएको डिएसपी महतोले जानकारी दिए ।

     

    अभियुक्तहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको तथा होली पर्वले गर्दा आज सार्वजनिक विदा रहेकोमा जिल्ला अदालत गौरबाट बुधवार म्याद थप गरेर कारवाही अगाडी बढाउने महतोले बताए ।

    प्रतिकृया दिनुहोस