• देश

    कोरोनाबारे छलफल गर्न रक्षामन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक

      ओमकार टाईम्स

    काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज (बुधबार) दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज अपराह्न ३ बजे बैठक बस्न लागेको हो ।

     

    उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको छ ।

     

    बैठकमा छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरसले विश्वव्यापी रूप लिइरहेको बेला यसको संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयमा छलफल गर्ने तयारी छ ।

     

    कोरोनाको संक्रमण नेपालभित्र नदेखिए पनि यसको त्रास व्याप्त छ । प्रतिपक्षीलगायतले कोरोनासँग जुध्न पूर्वतयारी नपुगेको भन्दै यसमा केन्द्रित हुन सरकारलाई आग्रह गरिरहेका छन् ।

     

    यिनै विषयमा सरकार गरेको पूर्वतयारी र अन्य दलका सुझाव लिन मन्त्री पोखरेलले सर्वदलीय बैठक बोलाएका हुन् ।

     

    यसअघि गत भदौ ३ गते सर्वदलीय बैठक बसेको थियो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

    प्रतिकृया दिनुहोस