• देश

    चीनका लागि प्रस्तावित राजदूत पाण्डेकाे संसदीय सुनुवाइ प्रक्रिया सुरु

      ओमकार टाईम्स

    सङघीय संसद् संसदीय सुनुवाइ समितिले जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।

     

    समितिको आजको बैठकले प्रस्तावित राजदूत पाण्डेका बारेमा कुनै गुनासो वा उजुरी भएमा त्यस्ता सूचना र उजुरी सङ्कलन गर्न १० दिनको सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

     

    मन्त्रिपरिषद्को १८ फागुनको बैठकले उनलाई चीनका लागि आवासीय तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

     

    नुवाकोट लिखु गाउँपालिका–१ निवासी प्रस्तावित राजदूत पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन् । नेपालको संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिशमा राजदूत पदमा नियुक्ति हुनुअघि सङ्घीय कानूनबमोजिम संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था छ ।

     

    सुनुवाइ प्रक्रिया अघि बढाउने सन्दर्भमा बैठकले प्रस्तावित राजदूत पाण्डेको शैक्षिक योग्यता र अनुभवबारे अध्ययन गरेको थियो ।राजदूत लिलामणि पौड्याललाई फिर्ता बोलाएर सरकारले चीनमा माथिल्लो श्रेणीको राजदूत पठाउने क्रममा उनको नाम सिफारिश गरेको जनाएको छ ।

     

    तत्कालीन मुख्यसचिव पौड्याललाई चीनमा राजदूत बनाउनुअघि सरकारले पाण्डेको नाम सिफारिश गरेकामा सरकारको फेरबदल भएसँगै उनको संसदीय सुनुवाइ रोकिएको थियो । रासस

    प्रतिकृया दिनुहोस