• देश

    पश्चिमाहरुको दबाब र प्रभावमा धर्म निरपेक्षता लागू गरियोः कमल थापा

      ओमकार




    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरुले अघि सारेका २२ सूत्रीय मागबारे सरकार गम्भीर नबनेको आरोप लगाउनु भएको छ ।

    बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले आफुहरुले उठाएका मागबारे फागुन मसान्तभित्र सम्बोधन गर्न आग्रह गरेका थियौं तर, सरकारले अहिलेसम्म आफ्ना मागलाई सकारात्मक रुपमा लिनु त परैको कुरा पूर्ण रुपमा उपेक्षा गरेको गुनासो गर्नुभयो ।

    उहाँले सरकारले आफूहरुको मागलाई उपेक्षा गरेकै कारण जनदबाब सिर्जना गर्न बाध्य भएको स्पष्ट पार्नुभयो । अध्यक्ष थापाले भोलि बैशाख ०६ गते देशैभरि व्यापक जनसहभागितामा धर्मनिरपेक्षता लेखिएको प्ले–कार्ड र ब्यानर जलाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

    धर्मनिरपेक्षतालाई तत्काल खारेजी गर्नुपर्ने सन्देश दिनको लागि भोलिको कार्यक्रम सांकेतिक कार्यक्रम हुने उहाँको भनाइ थियो । उहाँले आफूहरुले कानून र संविधान उल्लंघन नगरेको पनि समेत प्रष्ट पार्नुभयो । थापाले संविधानका कतिपय प्रावधानहरुमा अहिलेपनि आफ्नो पार्टीको असहमति रहेको उल्लेख गर्दै यद्धपि संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गरेर जाने आफ्नो पार्टीको नीति रहेको पनि बताउनुभयो ।

    अध्यक्ष थापाले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको विरोध गर्नु भनेको संविधानका विरोध नभएको पनि बताउँदै नेपालमा धर्मनिरपेक्षता बाहृय शक्तिको दबाब, प्रभाव र आर्थिक प्रलोभनको आधारमा आएको आरोप पनि लगाउनु भयो ।

    उहाँले २०६२-०६३ को जनआन्दोलनपछि धर्मनिरपेक्षता राजनीतिक दलहरुको एजेण्डा नभएको उल्लेख गर्दै जनआन्दोलन सकिएको तीन हप्ता नबित्दै धर्मनिरपेक्षता बनाइएको स्मरण गर्नुभयो । उहाँले पश्चिमाहरुको दबाब र प्रभावका आधारमा धर्मनिरपेक्षता राखिएको दावी पनि गर्नुभयो ।

    विदेशी षड्यन्त्रलाई समाप्त गर्ने र राष्ट्रिय पहिचान कायम गर्नपनि आफूहरुको संघर्ष र आन्दोलनको महत्वपूर्ण पक्ष भएको अध्यक्ष थापाको भनाइ छ । आफूहरुले हिन्दूराष्ट्रको कुरा गरेर सबैले यसलाई ग्रहण गर्नैपर्छ भनेर नभनेको पनि उहाँको जिकिर छ ।

    अध्यक्ष थापाले पछिल्लो समय नेपाल भ्रष्टाचारको ठूलो दलदलमा फसेको आरोप पनि लगाउनु भयो । उहाँले केही वर्षयता भ्रष्टाचारको कारणले गर्दा लोकतन्त्रको आवरणमा लुटतन्त्र हुने सम्भावना देखिएको दावी पनि गर्नुभयो ।


     

    प्रतिकृया दिनुहोस