• देश

    संसदमा कोरोना बहस : कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह

      ओमकार टाईम्स


    काठमाण्डौ – सांसदहरुले कोरोना भाइरसकाे त्रास फैलिरहेकाे समयमा माैका छाेप्दै कालाेबजारी गर्नेलाई कारबाही गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

     

     

    प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसदहरुले कोरोना सङ्क्रमणको जोखिम बढेको अवस्थामा कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

     

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले भाइरसको सन्त्रास फैलिरहेको समयमा मौका छोपेर कालोबजारी गरी कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न आग्रह गर्नुभयो  ।

     

    यस्तै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले पनि कोरोना सङ्क्रमणलाई नेपाल भित्रिन नदिने रणनीति तयार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । अन्तर्राष्ट्रिय आवागमनमा नेपालले अहिलेसम्म कुनै पनि रोक नलगाएकोप्रति उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयो ।

     

    नेपाल सरकारका मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएर जनतालाई त्रसित पार्ने काम गरिरहेको भन्दै उहाँले स्वास्थ्यमन्त्रीको अभिव्यक्तिबारे सरकारको जवाफ माग गर्नुभयो ।

     

    उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रीले सरकार अहिले तयारी अवस्थामा छैन । आफैँले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । क्वारेण्टाइनमा एक्लै बस्नुपर्छ भन्ने सन्देश प्रवाह हुँदा त्रसित बनाएको छ ।’

     

    त्यसैगरी सांसद डिला संग्रौला पन्तले विश्वभर नै कोरोना भाइरसको त्रास फैलिएको र धेरै देशले आवश्यक सर्तकता अपनाइरहेका बेला नेपाल सरकार भने गैरजिम्मेवार बन्दै गएको आराेप लगाउनुभयाे ।

     

    कोरोना सङ्क्रमणको त्राससँगै बजारमा खाद्यान्न, ग्यास, औषधि, मास्क, सेनिटाइजरलगायत सामान अभाव भएको भन्दै खाद्यान्न अभाव हुन नदिने व्यवस्था गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

    प्रतिकृया दिनुहोस