• देश

    भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुनर्संरचना गर्ने : पर्यटनमन्त्री भट्टराई

      ओमकार टाईम्स

    काठमाण्डाै – सरकारले भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने भएको छ ।

     

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको सुरुवाती समयमा नै विश्वभर महाभारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण देशभित्र र बाहिरका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको उल्लेख गर्दे भ्रमण वर्षलाई सरकारले नयाँ ढंगले पुर्नसंरचना गर्न लागेकाे स्पष्ट पार्नुभयाे ।

     

    संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवर्द्धनका लागि विशेष योजना बनाएर भ्रमण वर्षको कार्यक्रम पुर्नसंरचना गरिएको बताउनुभएको हो ।

     

    उहाँले भन्नुभयो, ‘नेपाल भ्रमण वर्ष २०२०का कार्यक्रमहरु देशभित्र  देशबाहिर सबै ठाउँमा स्थगित गरिएको छ र भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्नुपर्ने आवश्यकता देखिन्छ । १० वर्षमा पर्यटनसम्बन्धी पूर्वाधारहरुको विकास गर्ने, हवाई पूर्वाधार, सडक पुर्वाधार र नयाँ गन्तव्यहरु निर्माण गर्ने लगायतका कुरामा दश वर्षको विशेष योजना बनाउन खोजिरहेका छौँ ।’

     

    मन्त्री भट्टराईले तारागाउँ विकास समितिका सम्बन्धमा समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले सक्रियता बढाएको स्पष्ट पार्नुभयो । उहाँले भूकम्पले क्षति पुर्याएका तारागाउँ विकास समिति अन्र्तगत पोखरा, ककनी, नगरकोट लगायत स्थानमा रहेका रिसोर्टका भवनहरु आन्तरिक स्रोत र मन्त्रालयको केही अनुदानमा पुननिर्माण भइ सञ्चालनमा आएको जानकारी दिनुभयो ।

     

    समितिमा नेपाल सरकारको लगानीको अनुपात ३९ प्रतिशतबाट घटेर २२ दशलव ६७ प्रतिशत शेयर  भएको भन्ने प्रतिवेदनमा उल्लेख भए पनि सो बराबरको शेयर सरकारको नाममा नरहेकाले सो संख्याको शेयर सरकारको हुनुपर्नेमा अडान राख्ने काम भएको उहाँले स्पष्ट पार्नुभयो ।

     

    समितिको यथार्थ सम्पत्तिको अडिट गर्ने भन्ने सम्बन्धमा पनि मन्त्रालयले तदारुकता देखाएको बताउनुभयो ।

     

    उहाँले नेपाल वायुसेवा निगमका सम्बन्धमा समितिले दिएको निर्देशन र विभिन्न समयका कार्यदलले दिएको प्रतिवेदनका आधारमा सुधारको प्रक्रिया अघि बढाउनका लागि केही प्राविधिक काम अघि बढेको स्पष्ट पार्नुभयो । विशेष गरेर निगमलाई सार्वजनिक कम्पनीको रुपमा रुपान्तरण गर्ने गरि काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

     

    उहाँले नीजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने प्रक्रिया सुरु भईसकेको र काठगाउँ, टाँगिया बस्तीका बासिन्दालाई आवश्यक मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको स्पष्ट पार्नुभयो । ती बस्तीका झण्डै ८५ प्रतिशतले मुआब्जा लिईसकेको र बाँकीको मुआब्जा वितरण पनि छिटै हुने बताउनुभयो ।

     

    उहाँले विमान खरिदसँग सम्बन्धी निर्देशनका सम्बन्धमा मन्त्रालयबाट आन्तरिक रुपमा सुचना लिने काम भएको र त्यस सम्बन्धमा भएका प्रगतिलाई यथाशीघ्र जानकारी गराउने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस