• स्वास्थ

    देशभर ३६ हजार स्वास्थ्य स्वयंसेवक, सबै वडामा विशेषज्ञ चिकित्सक

      ओमकार टाईम्स

    सरकारले देशभर ३६ हजार स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने भएको छ। देशभरका ६ हजार ६ सय ८४ वडामा उक्त संख्यामा स्वयंसेवक परिचालित हुने बताइएको हो।

     

     

    स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका सचिवलगायत उच्च अधिकारीबीच शनिबार बसेको बैठकले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो।

     

    कोरोना भाइरसको संक्रमणबाट बच्न, सेल्फ क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने सावधानीका उपाय र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न स्वयंसेवक परिचालन गर्न लागिएको हो।

     

    हरेक वडामा कम्तीमा ५ जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्न राष्ट्रिय चिकित्सा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ।

     

    समितिमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा र स्वाथ्य मन्त्रालयका रेशमराज पोखरेल सदस्य रहेका छन् ।

     

    महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेवीको समेत सहयोगमा स्वयंसेवक परिचालन गर्न लागिएको हो। अधिकांश ठूला स्थानीय तहमा स्वास्थ्य स्वयंसेविका र समिति छन्।

     

    समितिले देशैभरका अस्पताल, नर्सिङहोम, मेडिकल कलेजका विद्यार्थी, सीटीईभीटीअन्तर्गत नर्सिङ क्याम्पसका सञ्चालकसँग छलफल सुरु गर्ने भएको छ।

     

    समितिका संयोजक प्राडा गिरीले आज आइतबारबाट छलफल शुरू गर्ने जानकारी दिँदै भने, ‘सबै वडामा स्वयंसेवक परिचालन गर्ने गरी स्थानीय तहमा समिति गठन गर्नेछौं। सकभर यसैसाता परिचालन गर्ने निर्णय गर्नेछौं ’ टोलीमा चिकित्सकको समेत सहभागिता रहने उनको भनाइ छ।

     

    सो टोलीले सेल्फ क्वारेन्टाइनमा बसेकालाई उपचार प्रविधि सिकाउने र तत्काल अस्पताल लैजानेसम्मको व्यवस्था गर्नेछ।

     

    समितिले स्थानीय सरकारकै सहयोगमा स्वयंसेवक परिचालन गर्न लागेको हो। समितिले चिकित्सक, नर्स र स्वास्थ्यसँग सम्बन्धित जनशक्ति परिचालन गर्ने अधिकार पाएको छ।

    प्रतिकृया दिनुहोस