• सम–सामयिक

    कोरोनोविरुद्ध सार्क आपत्‌कालीन कोष

      ओमकार टाईम्स

    काठमाडाैं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीविरुद्ध लड्न आपत्कालीन कोष घोषणा गरेका छन् । सार्क सदस्य राष्ट्रका सरकार प्रमुख र उच्च प्रतिनिधिबीच आइतबार साँझ भएको भिडियो कन्फरेन्समा एक करोड अमेरिकी डलरको कोष घोषणा गरिएको हो ।

     

     

    छलफलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष स्थापनाको प्रस्ताव गरेका थिए। उनले स्वैच्छिक रूपमा योगदान गर्न सकिने र आवश्यकताअनुसार जुनसुकै मुलुकले पनि कोष उपयोग गर्न सक्ने बताएका थिए। उक्त प्रस्तावमा सबै मुलुकले समर्थन जनाएका छन्। कोषको कार्यविधि दूतावासहरूमार्फत विदेश सचिवहरूले टुंगो लगाउनेछन्।

     

    करिब डेढ घण्टा भएको भिडियो छलफलमा कोभिड–१९ महामारी रोकथामका लागि स्वास्थ्यसम्बन्धी सार्कस्तरीय संरचना गठन गर्ने समझदारी पनि भएको छ। सार्क सदस्य राष्ट्रहरूबीच सूचना आदानप्रदान र दीर्घकालीन सहकार्यका लागि क्षेत्रीय संरचना आवश्यकता छलफलमा सहभागी सरकार प्रमुख तथा प्रतिनिधिले औंल्याएका थिए।

     

    छलफलका लागि भारतको विदेश मन्त्रालयले समन्वय गरेको थियो। सार्क राष्ट्रका प्रमुखहरू सन् २०१४ मा काठमाडौंमा भएको सार्क सम्मेलनपछि पहिलो पटक यसरी सँगै छलफलमा सहभागी भएका हुन्। पाकिस्तानमा सन् २०१६ मा १९ औं शिखर सम्मेलन हुने तय भए पनि भारत र पाकिस्तानबीच विकसित कटुतापूर्ण सम्बन्धका कारण सार्क निष्क्रियझैं बन्न पुगेको थियो।

     

    छलफल सुरु गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारी नियन्त्रणका लागि भारतले चालेका कदमबारे जानकारी गराए। उनले आवश्यक परे सार्क मुलुकमा परिचालन गर्न भारतले चिकित्सक र विशेषज्ञको ‘रेपिड रेस्पोन्स टिम’का अतिरिक्त टेस्टिङ किट र उपकरण तयार राखेको बताए। अरू मुलुकका सरकार प्रमुख र प्रतिनिधिले पनि आआफ्नोतर्फबाट भएका प्रयास सुनाएका थिए।

     

    मोदीले गम्भीर चुनौतीको घडीमा सबै मिलेर काम गर्नुको विकल्प नभएको बताएका छन्। ‘सबैले गम्भीर चुनौती सामना गरिरहेका छौं। महामारीले आगामी दिनमा कस्तो रूप लिन्छ भन्ने हामीलाई थाहा छैन। त्यसैले हामीले मिलेर काम गर्नुपर्छ भन्ने प्रस्ट छ,’ उनले छलफलमा भनेका थिए। उनले महामारीका कारण सिर्जित परिस्थितिको सामना एकसाथ गर्नुपर्नेमा जोड दिए। ‘हामीले यो परिस्थितिको सामना टाढा भएर होइन, साझेदारीको भावनासहित अगाडि बढ्नुपर्ने खाँचो छ।’

     

    मोदीले आपत्कालीन उद्धार टिमका लागि अनलाइन तालिम दिन पनि भारत तयार रहेको जानकारी दिए। उनले शंकास्पद संक्रमितहरूको पहिचान र निगरानीका लागि प्रयोगमा ल्याइएको जिल्लास्तरीय एकीकृत निगरानी पोर्टल उपलब्ध गराउन र यसको प्रयोगका लागि तालिम दिन सकिने बताए। अन्य सार्क मुलुकहरूमा भइरहेको उत्कृष्ट अभ्यासलाई साट्न सकिनेसमेत उनले भनाइ थियो।

     

    भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियामा महामारी नियन्त्रणका लागि साझा अनुसन्धान केन्द्र बनाउने प्रस्ताव पनि गरेका छन्। यसको समन्वयका लागि भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले सहयोग गर्ने पनि उनले बताए। ‘विज्ञहरूलाई महामारीले अर्थतन्त्रमा पार्ने दीर्घकालीन असरको अध्ययन गर्नका लागि आग्रह गर्न सक्छौं। उनीहरूले यस क्षेत्रको व्यापार र आपूर्ति प्रणालीलाई कसरी जोगाउने भन्नेमा अध्ययन गर्नेछन्,’ उनले भने।

     

    मोदीले कोभिड–१९ महामारी पहिलो र अन्तिम नभएकाले सार्क मुलुकहरूबीच साझा रणनीति आवश्यक रहेको बताए। ‘आजको आवश्यकता आपसी ज्ञान र अनुभव बाँड्ने हो,’ उनले थपे, ‘यो लडाइँ सबैले मिलेर लड्नु छ। हामीबीचको सहकार्य बाँकी विश्वका लागि पनि उदाहरण बन्नेछ भन्ने विश्वास छ।’

     

    प्रधानमन्त्री केपी शर्माले ओलीले सामूहिक प्रयासमा कोभिड–१९ विरुद्ध लड्न सकिने धारणा राखे। उनले नेपालमा एक जनाबाहेकमा संक्रमण पुष्टि नभए पनि जोखिम रहेको बताए। ‘महामारी रोकथामका लागि हामीले विभिन्न उपाय अवलम्बन गरेका छौं। केन्द्र, प्रदेश र स्थानीय तहमा समन्वयका लागि निकायहरू गठन गरिएका छन्। विदेशीहरूको आवागमनमा रोक लगाइएको छ,’ ओलीले भनेका थिए। उनले वैदेशिक रोजगारीमा जानका लागिसमेत रोक लगाइएको, पर्वतारोहण बन्द गरिएको तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन स्थगन गर्ने निर्णय गरेको समेत जानकारी दिए।

     

    प्रधानमन्त्री ओलीले महामारीको कुनै सीमा, राष्ट्रियता र क्षेत्र नहुने उल्लेख गर्दै यसविरुद्ध लड्न साझा पहलको खाँचो रहेको बताए। यस किसिमको महामारी नियन्त्रणका लागि जनचेतनाको भूमिका अहम् हुने उनको भनाइ थियो। ‘समुदायमा आधारित संस्था, स्वास्थ्य र गैरस्वास्थ्य क्षेत्रसँग सम्बन्धित संस्था तथा स्वयंसेवकलाई जनचेतना फैलाउन र सरकारी निकायलाई सघाउन परिचालन गर्न सकिन्छ। हामीले आफ्ना नागरिकलाई अनावश्यक विदेश भ्रमण नगर्न र भेला नहुन आह्वान गर्नुपर्छ,’ उनले भने। प्रधानमन्त्री ओलीले सार्क क्षेत्र परम्परागत औषधिका लागि धनी भएकाले आमनागरिकलाई त्यस्ता औषधि प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले अभिवादन गर्दा हात मिलाउनेभन्दा पनि नमस्ते गरे भाइरस सर्नबाट जोगिइने बताए।

     

    ओलीले सीमापारिबाट आउने संक्रमितको स्वास्थ्य परीक्षण र उपचारका लागि सीमा अस्पतालहरू प्रयोग गर्न सकिने सुझाव दिए। ‘अस्पताल, स्वास्थ्य क्षेत्र, अनुसन्धान संस्था र स्वास्थ्य कार्यकर्ताबीच आफ्नो अनुभव, अनुसन्धानका विवरण र उत्कृष्ट अभ्यास साटासाट गर्नका लागि क्षेत्रीय सन्जाल विस्तार गर्न सकिन्छ,’ ओलीको प्रस्ताव थियो। उनले अत्यावश्यक औषधि, स्वास्थ्य उपकरणलगायत सामग्रीको आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्नुपर्ने खाँचो रहेको जनाउँदै त्यसका लागि सार्कस्तरीय संयन्त्र निर्माण गर्नुपर्ने खाँचो औंल्याएका थिए। ‘पर्याप्त स्रोत साधनसहितको सार्कस्तरीय आपत्कालीन स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्छ,’ उनको सुझाव थियो।

     

    अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भने इरानसँगको खुला सीमाले सबैभन्दा बढी जोखिम निम्त्याएको बताए। एसियाली मुलुकहरूमध्ये चीन, दक्षिण कोरियापछि इरानमा कोभिड–१९ को संक्रमण बढी प्रकोप छ। घानीले सार्क मुलुकहरूको ठूलो भूभाग कठिन र दुर्गम रहेकाले कोभिड–१९ जस्तो महामारीको नियन्त्रणका लागि ‘टेली मेडिसिन’ को भूमिका महत्त्वपूर्ण हुने बताए। उनले भूपरिवेष्टित मुलुकहरूबीचको नाका बन्द गर्दा औषधिलगायत अत्यावश्यक वस्तुको अभाव सिर्जना हुने भएकाले नाका बन्द गर्नुको साटो नियमन गर्नु राम्रो हुने धारणा राखे।

     

    माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले यसअघि सन् २००३ मा सार्स भाइरसको त्रासका बेला जस्तै सार्क मुलुकका स्वास्थ्य मन्त्रीहरूको नियमित बैठक बस्नुपर्ने बताए। उनले महामारीविरुद्ध लड्न सबैभन्दा पहिले सूचना आदानप्रदानलाई सघन पार्नुपर्ने र विशेष रणनीति तर्जुमा गर्नुपर्ने बताएका छन्। ‘स्वास्थ्यसम्बन्धी आपत्कालीन निकायबीचको समन्वय र अर्थतन्त्र उकास्न विशेष रणनीति बनाउनुपर्छ,’ उनले भने।

     

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले सार्कको तेस्रो प्रस्तावनामै यस किसिमको सहकार्यको उल्लेख गरिएको हुँदा पछिल्लो संकटसँग जुध्न विशेष किसिमको क्षेत्रीय संयन्त्र निर्माण गर्नुपर्ने बताइन्। उनले महामारीसँग जुध्न विशेषज्ञता र स्रोतमा साझेदारी गर्न समन्वयको खाँचो पनि औंल्याइन्। ‘अहिलेको संवाद र छलफललाई विशेषज्ञ र प्राविधिक तहसम्म पनि लैजानुपर्छ,’ उनले भनिन्। प्रधानमन्त्री वाजेदले मोदीको प्रस्तावहरूको स्वागत गर्दै तिनको थप अध्ययन गरेर कार्यान्वयनका लागि छलफल गर्नुपर्नेमा जोड दिइन्। उनले बंगलादेश सबै किसिमको क्षेत्रीय सहकार्यका लागि तयार रहेको समेत जानकारी दिइन्।

     

    श्रीलंकाका राष्ट्रपति गोटभाया राजपाक्षेले आगामी अप्रिलमा संसद्को चुनाव हुने तय भए पनि कोभिड–१९ को संक्रमण फैलन नदिन ठूला सभा र भेटघाट हुन रोक लगाइएको जानकारी दिए। उनले शैक्षिक संस्थाका अतिरिक्त धार्मिक कार्यक्रम र भेलामा समेत रोक लगाइएको बताए। राजपाक्षेले पनि कोभिड–१९ का कारण पर्यटन क्षेत्रले ठूलो धक्का व्यहोरेको र त्यसको असर पूरै अर्थतन्त्रमा देखिएको सुनाए। उनले अर्थतन्त्रमा देखिएको असरबाट पार पाउन विशेष रणनीति आवश्यक रहेको समेत बताए। राष्ट्रपति राजपाक्षेले कोभिड–१९ माथि नियन्त्रण गर्न सार्क मन्त्रीस्तरीय विशेष संयन्त्र बनाउनुपर्नेमा जोड दिए। ‘कोभिड–१९ का लागि मात्र होइन, भविष्यमा आइपर्ने यस किसिमको संकटसँग जुध्न पनि सबै मिलेर काम गर्नु आवश्यक छ,’ उनले भने।

     

    छलफलका क्रममा अर्थतन्त्रमा पर्ने असरबारे चिन्ता व्यक्त गरिएको थियो। प्रधानमन्त्री ओलीले महामारीका कारण अर्थतन्त्रले चुकाएको मूल्यको हिसाब अझै बाँकी रहेकाले यो लम्बिए सबैलाई नराम्रोसँग असर पर्ने उल्लेख गरे। ‘अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि क्षेत्रीय परामर्शसँगै आपूर्ति प्रणालीमा सहज पहुँच, क्षेत्रीय व्यापार, लगानी, सम्पर्क र पर्यटन क्षेत्रमा सहयोगको भूमिका महत्त्वपूर्ण हुनेछ,’ उनको भनाइ थियो। माल्दिभ्सका राष्ट्रपति सोलिहले कोभिड–१९ ले विशेषगरी साना अर्थतन्त्रमा ठूलो असर पर्ने उल्लेख गर्दै त्यससम्बन्धमा विशेष सहकार्य चाहिने धारणा राखेका थिए। ‘माल्दिभ्सको विदेशी मुद्राको प्रमुख स्रोत भनेकै पर्यटन हो। चीन र इटालीबाट सबैभन्दा बढी पर्यटक आउने गरेका छन्। अहिले त्यो ठप्प भएको छ,’ उनले भने।

     

    भुटानका प्रधानमन्त्री लोट्या छिरिङले पनि साना अर्थतन्त्रमा धेरै असर पर्ने भएकाले यसको दीर्घकालीन प्रभावको अध्ययन थाल्नुपर्ने बताए। त्यसका लागि सार्क मुलुकहरूबीच समन्वयको खाँचो रहेको उनको भनाइ थियो। ‘हामी शत्रु देख्दैनौं तर यसले सबैतिर असर पुर्‍याएको हुन्छ। विशेषगरी साना अर्थतन्त्रलाई नराम्रोसँग धक्का दिन्छ,’ उनले भने।

     

    पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जफर मिर्जा मिजाले अत्यन्त खराब अवस्थाका लागि तयार रहनुपर्ने भन्दै क्षेत्रीय सहकार्यमा सार्क सचिवालयको भूमिका अहम् हुने बताए। ‘प्राविधिक र आर्थिकलगायत सबै किसिमका स्रोतलाई एकीकृत गर्न यो मञ्च उपयोगी हुनेछ,’ उनले भने। उनले सूचना आदानप्रदानलगायत कामका लागि स्वास्थ्य मन्त्रीस्तरीय एउटा विशेष संयन्त्र गठनमा पनि जोड दिए।

     

    त्यसैगरी अफगानिस्तानका राष्ट्रपति र पाकिस्तानका प्रतिनिधिले कोभिड–१९ नियन्त्रणमा चीनले सफलता हासिल गरेको उल्लेख गर्दै त्यसबाट सिक्न सकिने धारणा राखे। छलफलमा पाकिस्तानी स्वास्थ्य राज्यमन्त्री मिर्जाले कश्मीरको प्रसंग पनि उप्काएका थिए। उनले कश्मीरमा यो बेला लगाइएको सबै किसिमको प्रतिबन्ध हटाउनुपर्ने बताएका थिए। त्यसबारे भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया जनाएनन्।

     

    कोभिड–१९ महामारीको त्रास विश्वव्यापी भएका बेला आइतबार भएको छलफललाई सार्कको पुनर्जीवनका रूपमा कतिपय विश्लेषकले अर्थ्याएका छन्। सार्क राष्ट्रमा कोभिड–१९ को संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ। भारतमा संक्रिमतको संख्या १ सय ७ पुगेको छ। पाकिस्तानमा ३४, अफगानिस्तानमा ११, बंगलादेशमा ५, माल्दिभ्समा दुई, श्रीलंकामा दुई, भुटान र नेपालमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ। भारत र पाकिस्तानमा संक्रमितको संख्यामा तीव्र रूपमा बढेको देखिन्छ। कोभिड–१९ महामारीको त्रास विश्वव्यापी भएका बेला आइतबार भएको छलफललाई सार्कको पुनर्जीवनका रूपमा कतिपय विश्लेषकले अर्थ्याएका छन्। कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस