• देश

    ४ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेनन् भुकम्प पीडितका निजी आवास

      ओमकार



    दोलखा । विनासकारी भुकम्पले ध्वस्त बनाएको ४ वर्ष बितिसक्दा पनि जिल्लाको भीमेश्वर नगरपालिका–२, फुलपाको ६४ ओटा निजी आवास मध्ये केहि निजि आवासमा मात्र पुनर्निर्माण सुरु भएको छ ।

    सदियौंदेखि बसोबास गरेको जग्गाको स्वामित्व आफ्नो नाममा नभएको कारण साविकको भीमेश्वर नगरपालिका–४, हालको वडा नं २ फुलपाका केहि परिवारले निजी आवास पुनर्निर्माण गर्न सकेका छैनन् । जग्गाको स्वामित्व अर्थात लालपूर्जा आफ्नो नाममा नभएकै कारण भुकम्प प्रभावितहरुले पाउने सेवा सुविधाबाट बञ्चितिमा परेको भन्दै सम्वन्धित निकायमा पटकपटक उनीहरुले गुनासो गरेका थिए ।

    भूमिहीन सिमान्तकृत समुदायहरुको बसोबास रहेको फुलपामा निजी आवास पुनर्निर्माण गर्न जग्गा प्राप्तिको लागि संघर्ष समिति समेत बनेको छ । ६ महिनाअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, भीमेश्वर नगरपालिकाको कार्यालय र २ नम्बर वडा कार्यालयमा सो समितिले २ पटक त संयुक्त निवेदन नै दर्ता गराईसकेको छ ।

    तर पनि सो निवेदन उपर कुनै कारवाही नभए पछि फुलपावासी सरकारपीडित समेत बनेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखालाई हामीले पटक पटक सम्पर्क गर्न खोज्दा उक्त प्राधिकरणमा जहिले पनि कोहि कर्मचारी भेटिदैन। घर पुनर्निर्माण गर्न नपाएका कारण ६४ परिवार भुकम्प प्रभावितहरुको करिब ३ सय जना प्रत्यक्ष मार्कामा परेका छन् ।

    प्राधिकरणको घरदैलो सर्भेक्षण तथा स्थलगत अध्ययनबाट लाभग्राही सूचीमा नाम दर्ता भएको तर भूमिहीन भएको कारण सम्झौता नै गर्न नसकेका १९ परिवार त झनै पीडित माथि पीडित हुन पुगेका छन ।

    नापीको बखतमा फिल्डबूकमा मोहीको नाममा नाम दर्ता भएको तर जग्गा कायम नभएको फिल्डबूकको आधारमा नक्सा पास भई निजी आवास पुनर्निर्माण भएको कारण जग्गाधनीले घर दावी गरे ४२ लाभग्राहीको बासै उठने सम्भावना रहेको कार्यवाहक अध्यक्ष थामीले फोन मार्फत जानकारी दिए ।


     

    प्रतिकृया दिनुहोस