• बिज्ञान/ प्रविधि

    पठनपाठन कसरी अगाडि बढाउने विषयमा विज्ञले थाले अनुसन्धान

      ओमकार टाईम्स


    कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यून गर्दै विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले अनुसन्धान सुरु गरेका छन् । सङ्क्रमणको अवस्थाकै बीचमा पनि अध्ययन अध्यापन कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञका बीच अध्ययन गर्न छलफल सुरु भएको हो ।

     

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माको संयोजकत्वमा हालै गठन गरेको शिक्षण विधि तथा विकल्प उपसमितिले यसबारेमा अध्ययन अघि बढाएको हो ।

     

    कोरोनाको सङ्क्रमणका बारेमा हाल कुनै अनुमान नै गर्न नसकिने र यसको प्रभाव लामो समयसम्म पर्ने अवस्थामा विद्यार्थीको पठनपाठन कसरी अगाडि बढाउने तथा त्यसको सम्भाव्यता कस्तो हुन्छ भन्ने विषयमा उपसमितिले अध्ययन गर्न थालेको छ ।

     

    सो उपसमितिलाई कोभिड–शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षण लगायतका योजना बनाउने र मन्त्रालयलाई सुझाव दिने जिम्मेवारी दिइएको छ । उपसमितिका संयोजक तथा खुला विश्वविद्यालयका उपकुलपति शर्माले सङ्कटको यस घडीको व्यवस्थापन गर्दै समग्र शैक्षिक क्यालेन्डरकै बारेमा अध्ययन गरिने जानकारी दिए ।

     

    सरकारबाट जारी गरिएको बन्दाबन्दी (लकडाउन) तथा सामाजिक दूरी कायम गर्ने विषय कति समयसम्म रहन्छ भन्ने आधारमा शैक्षिक क्यालेन्डर बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । विभिन्न विश्वविद्यालयका पदाधिकारी, शिक्षा मन्त्रालय तथा राष्ट्रिय परीक्षा बोर्ड लगायतका पदाधिकारी सम्मिलित सो उपसमितिले झन्डै एक महिनाभित्र मन्त्रालयलाई सुझाव दिने तयारी गरेको छ ।

     

    कोरोनाको सङ्क्रमणले वैशाख महिनासम्म विद्यालय तहका विद्यार्थीलाई खासै असर नगर्ने भए पनि विश्वविद्यालयमा वार्षिक तथा सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई भने धेरै समस्या पार्ने देखिएको उपकुलपति शर्मा बताए । साथै विश्वविद्यालय तहमा केही विद्यार्थीको परीक्षा रोकिएको, केही नयाँ तहमा भर्ना गर्ने बेला भएकाले क्यालेन्डरका विषयमा एक महिनाभित्र एक खालको खाका बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

     

    शिक्षकलाई पनि तयार पार्नुपर्ने

     

    यसका लागि वैकल्पिक माध्यमबाट पठनपाठन अघि बढाउन सकिने स्पष्ट गर्दै उपकुलपति शर्माले त्यसका लागि विद्यालय तहमा अध्यापन गराउने शिक्षकलाई तयार पार्नुपर्ने अवस्था रहेको बताए । अनलाइन, दूरशिक्षा यसको विकल्प हुन सक्ने तर त्यसको अवस्था के छ भन्ने कुराको अध्ययन गर्ने तयारीमा आफूहरू रहेको उनको भनाइ छ । प्रविधिबाट पढाउन शिक्षकका साथै यसमा विद्यार्थीको पहुँच कस्तो छ भन्ने हिसाबले समेत सोच्नुपर्ने उपकुलपति शर्माको भनाइ छ ।

    प्रतिकृया दिनुहोस