• देश

    आज राष्ट्रपति भण्डारी र सि जिनपिङ बीच भेटवार्ता हुदै, पारवहन प्रोटोकलमा हस्ताक्षर हुने

      ओमकार


    काठमाडाैँ । चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज चिनियाँ समकक्षी सि जिनपिङसँग भेटवार्ता गर्नुहुने भएको छ ।

    अपराह्न हुने साे भेटवार्तामा नेपालले चिनियाँ राष्ट्रपति जिनपिङकाे नेपाल भ्रमणको विषयबारे छलफल हुने र उहाँलाई भ्रमणका लागि निम्ताे दिने बताइएको छ । भेटका क्रममा बिआरआईमा नेपालको उपस्थिति र लाभ उठाउन सक्ने विषयका बारेमा समेत छलफल हुने बताइएको छ ।

    साे‍ भेटवार्ताका क्रममा नेपाल-चीन पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर समेत हुने जनाइएकाे छ । दुवै मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा आजै सोमबार नेपाली प्रतिनिधि र चिनिया अधिकारीले हस्ताक्षर गर्नेछन् ।

    सन् २०१६ मा सम्पन्न नेपालले चीनसँग पारवहन तथा यातायात सम्झौता गरेकाे थियाे ।यस प्राेटोकलमा हस्ताक्षरपछि नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म पुग्नेछ । हाल दक्षिणी छिमेकी भारतीय समुद्रतटसम्म मात्र नेपालकाे पारवहन पहुँच रहेकाे छ । अहिलेसम्म नेपालले भारतको भूमिबाट मात्र तेस्रो मुलुकसँग सामुद्रिक बन्दरगाहबाट व्यापार गर्दै आएकोमा चीनकाे साे सहमति कार्यान्वयन भए भारतसँगकाे निर्भरता घट्ने अपेक्षा गरिएकाे छ ।

    चीनस्थित नेपाली दुतावासका अनुसार पहिलोपटक चीनकाे राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारीले जिनपिङसँगकाे भेटका क्रममा नेपालले अघि सारेको विषयलाई समेत संक्षिप्त छलफल गर्ने तयारी अघि बढाइएको छ ।

    बीआरएफको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीन जानुभएकी राष्ट्रपति भण्डारीको यो राजकीय भ्रमणको अर्काे मुख्य उद्देश्य द्विपक्षीय वार्ता पनि थियाे । साे सम्मेलनको समापनसँगै जारी गरिएको ३८ बुँदे संयुक्त वक्तव्यमा नेपालमा चीनले ल्याउने रेलमार्गकाे विषय पनि समेटिएकाे छ ।


     

    प्रतिकृया दिनुहोस